
काठमाडौं । हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्यापर’ को रुपमा चिनाएको थियो । प्रसिद्ध अमेरिकी अखबार वालस्ट्रिट जर्नलले विपिनलाई र्याप गायन सिक्दै गरेका युवाको रुपमा उल्लेख गरेको थियो ।
सोमबार विपिनको शव नेपाल ल्याइएको छ । उनको शवसँगै उनका लुगा, कापीकिताब र अन्य प्रयोग गर्ने सामग्री पनि छन् । त्यहाँ उनको नीलो रङको गितार पनि छ । महाकाली नदी किनारमा छरिएका उनका डायरीमा दैनिकी पनि लेखिएको छ । जहाँ, गितार र संगीत सिक्ने कुरा पनि उल्लेख छ । यी सबै तथ्य हेर्दा, संगीतमा विपिनको रुचि देख्न सकिन्छ ।
ती सबै सामानलाई महाकाली नदीमा बगाइएको छ । मंगलबार बिहान महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि गरिएको छ ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।
