पोखरामा विभिन्न प्रकारका १५० भन्दा बढी पट्का नष्ट, प्रहरीले गर्‍यो कारबाही

Share:

पोखरा । पटकापट्कीका कारण हुने दुर्घटना र सार्वजनिक शान्तिमा बाधा पुर्‍याउने कार्य रोक्न कास्की प्रहरीले कडा निगरानी सुरु गरेको छ। यसै क्रममा पोखराका विभिन्न स्थानहरूबाट संकलन गरिएका १५० भन्दा बढी विभिन्न प्रकारका पट्काहरू नष्ट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी इकाईहरूबाट खटिएको टोलीले जनगुनासोका आधारमा सञ्चालन गरेको अनुगमनपछि पट्काहरू नियन्त्रणमा लिई खाल्डो खनी पानी हालेर पुर्ने विधिबाट सुरक्षित रूपमा नष्ट गरिएको हो।

नष्ट गरिएका पट्काहरूमा खुर्सानी पट्का १५ प्याकेट, आलु पट्का २५ थान, स्काई सर्ट १ पिस, Helen Shots: १ प्याकेट, १२ स्टार पट्का: २ प्याकेट, रकेट पट्का २० पिस तथा मिनी बुलेट पट्का ६० पिस  छन् ।

प्रहरीका अनुसार यस्ता पट्काहरूको प्रयोगले बालबालिका, वृद्धवृद्धा तथा जनस्वास्थ्यमा असर पुर्‍याउनुका साथै सार्वजनिक सम्पत्ति तथा सुरक्षामा पनि खतरा हुन सक्ने भएकाले यस्ता कार्यविरुद्ध निगरानी बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले आम नागरिकलाई चाडपर्वका अवसरमा सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरण बनाउन सघाउन अनुरोध गरेको छ। प्रहरीले अवैध रूपमा पट्का विक्री, वितरण वा प्रयोग गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: