
पोखरा । नेपालीहरूको महान् पर्व शुभ-दीपावली (तिहार) २०८२ को पावन अवसरमा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आचार्यले आफ्नो शुभकामना सन्देशमा तिहारलाई नेपाली समाजको मौलिकता, सामाजिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा वर्णन गरे। उनका अनुसार यमपञ्चक भनेर चिनिने यो पाँचदिने पर्वले समाजमा एकता, आपसी सद्भाव र पुनर्जागरणको ऊर्जा भर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
उनले भने, “विपरीत परिस्थितिमा पनि नेपाली समाजलाई पुनः एकताबद्ध बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धन गर्न तिहार जस्तो मौलिक पर्वले प्रेरणा दिन्छ।”
नगरप्रमुख आचार्यले पोखरा महानगरपालिका राष्ट्र र राष्ट्रियता प्रति अटल सम्मान र सांस्कृतिक प्रेमको भावना जागृत गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
तिहारका पाँच दिन, काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजाका माध्यमबाट मनाइने यो पर्वले देव र मानवबीचको सम्बन्ध, कृतज्ञता र स्नेहको प्रतीकको रूपमा नेपाली समाजमा विशेष स्थान राखेको उनको भनाइ छ।
नगरप्रमुख आचार्यले निधारमा सप्तरङ्गी टिका, घरघरमा दीपावलीको उज्यालो, देउसी-भैलोको रौनक र सेलरोटी–मिष्ठान्नको मिठास सँगै सबै नेपालीमा नयाँ उत्साह, जोश र उमंग ल्याओस् भन्ने कामना गरे।

