पोखरामा भव्य भाइटिका महोत्सव : सयभन्दा बढी विदेशी पर्यटकले लगाए सप्तरंगी टिका, रमाए देउसीभैलोमा

Share:

पोखरा । तिहारको उल्लासमय अवसरमा होटल संघ पोखरा नेपालले विहीबार आयोजना गरेको १८औं भाइटिका महोत्सव यसपटक विशेष बन्यो — कारण, १५ भन्दा बढी देशका सयभन्दा बढी विदेशी पर्यटकको उत्साहपूर्ण सहभागिता। लेकसाइडस्थित होटल पौवामा भएको रंगीन महोत्सवमा अमेरिका, वेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिल्याण्ड, नेदरल्यान्डलगायत देशका पर्यटकले रेन्वो चिल्ड्रन होमका छात्राहरूबाट सप्तरंगी टिका लगाउँदै नेपाली तिहार संस्कृतिको अनौठो अनुभव सँगाले।

महोत्सवमा सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार दिइयो। सेलरोटी, आँपको अचार र विविध नेपाली परिकारको स्वाद चाख्दै पर्यटकले देउसी-भैलोमा नाचगान गर्दै रमाइलो माहोल सिर्जना गरे।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा र नेपालकै पर्यटन प्रवद्र्धनका लागि यस्तो सांस्कृतिक महोत्सवले ठूलो योगदान पुर्याउने बताए। “यो पटकको भाइटिका महोत्सवमा विदेशी पाहुनाको उल्लेखनीय उपस्थिति रहँदा हामी हौसिएका छौं,” उनले भने।

अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले नेपालमा बारम्बार आएको बताउँदै भनिन्, “यसपटक भाइटिकाको टिका लगाउन पाउँदा निकै विशेष अनुभूति भयो। नेपालीको संस्कृतिको समृद्धि र अतिथि सत्कार मन छुने छ।”

कार्यक्रमका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले सहभागिता र सहयोगका लागि सबैप्रति आभार व्यक्त गर्दै भने, “संस्कृतिको माध्यमबाट पर्यटनलाई पुनः गतिमा ल्याउने हाम्रो उद्देश्य सफल भएको महसुस भएको छ।”

महोत्सवमा सहभागीलाई तिहारको महत्व, दिपावलीको इतिहास तथा पाँचै दिनका सांस्कृतिक सन्देशहरूबारे जानकारी दिइएको थियो। यो वर्षको भाइटिका महोत्सवलाई गोर्खा बियर र सोमरस बीले सहयोग गरेका थिए भने नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका थिए। अनलाइन पार्टनरमा रिभेल रहेको थियो।

पोखराको तालसहितको सहरमा उज्यालो र संगीतले भरिएको यो भाइटिका महोत्सवले संस्कृति र पर्यटनको सुन्दर संगम प्रस्तुत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: