‘नेपाल कला यात्रा’ पुस्तक लोकार्पण : कलाकार नगेन सिंह ठकुरीको देश चिनाउने महाअभियान

Share:

पोखरा । कलाकारितामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउने उद्देश्यले सुरु गरिएको ‘नेपाल कला यात्रा’ पुस्तक आज एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। नेपालीहरूको महान चाड तिहारको भाइटिकाका दिन कलाकार नगेन सिंह ठकुरीको नगेन आर्ट म्युजियममा पुस्तक सार्वजनिक गरिएको हो।

विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा परिचित नेपाललाई अझ प्रभावकारी रूपमा उजागर गर्न र यसको उपयोग बढाउन उद्देश्यले यो कृति प्रकाशित गरिएको ठकुरीले बताए। उनले भने, “हाम्रो देशको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता विश्वमा अद्वितीय छ, तर यसको प्रचार र उपयोगमा कमी छ। यही सन्देश तिहारकै दिन विश्वभर पुर्‍याउने उद्देश्यले पुस्तक सार्वजनिक गरेका हौं।”

लोकार्पण समारोहमा कलाकार सिंहका आमा-बुबा होमबहादुर र शान्ता ठकुरी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, जनप्रतिनिधि विनोद लामिछाने, कार्यक्रम संयोजक नवीन श्रेष्ठ, र नगेन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योति हमालले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

पुस्तकको समीक्षा गर्दै पर्यटन विज्ञ पहारीले भने, “यस कृतिमा कलाकारले देशका विविध पर्यटनस्थल पुगेर सिर्जना गरेका कलात्मक अभिव्यक्तिहरू समेटिएका छन्।” साहित्यकार गौतमले पुस्तकका विभिन्न कलात्मक पक्ष र सौन्दर्यबारे विस्तृत समीक्षा गर्दै ठकुरीको प्रयासले नेपाली कला र पर्यटनबीचको सम्बन्धलाई सशक्त बनाएको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन सुजन देवाजुले गरेका थिए। स्वागत मन्तव्य‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक नवीन श्रेष्ठले दिएका थिए भने समापन तथा धन्यवाद ज्ञापन नगेन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योति हमालले गरे।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पौडेल, कलाकारका अभिभावक र अन्य अतिथिहरूले ठकुरीको अभियानलाई सफलताको शुभकामना व्यक्त गरे। नेपालका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी तयार पारिएको यस पुस्तकमा लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थलका कलाकृति समावेश गरिएको छ।

कार्यक्रममा जनाइएको जानकारीअनुसार,‘नेपाल कला यात्रा’लाई आगामी दिनमा १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: