पोखराको कम्पनी प्रचार नेपालले किन्यो ‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार

Share:

पोखरा । विदेशमा नेपाली चलचित्र र सांगीतिक कार्यक्रम प्रदर्शन गर्दै आएको प्रचार नेपाल प्रालिले अहिले नेपालभर प्रदर्शन भइरहेको चर्चित चलचित्र ‘जेरी अन टप’ को क्यानडा वितरण अधिकार प्राप्त गरेको छ। प्रचार नेपालका सञ्चालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाबीच शुक्रबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। दर्शकको मागअनुसार क्यानडामा चलचित्र प्रदर्शन गर्नका लागि वितरण अधिकार लिइएको सञ्चालक पुरीले जानकारी दिए। उनका अनुसार क्यानडामा चलचित्रको बुकिङ खुला भइसकेको छ।

यसअघि प्रचार नेपालले ‘पूर्णबहादुरको सारंगी’, ‘तेल भिसा’, ‘छक्का पञ्जा ५’ र ‘ह्रस्व दीर्घ’ जस्ता लोकप्रिय चलचित्रहरू क्यानडामा प्रदर्शन गरिसकेको छ। साथै, संस्थाले विभिन्न म्यूजिकल इभेन्ट पनि आयोजना गर्दै आएको छ।

संस्थाका साजनजंग पाण्डेका अनुसार ‘जेरी अन टप’ नोभेम्बर १ बाट क्यानडाका प्रमुख शहरहरूमा प्रदर्शन हुने भएको छ। उनका अनुसार चलचित्रका लागि टिकट बुकिङ खुला भइसकेको छ।

अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्र असोज ३१ गतेदेखि नेपालभर प्रदर्शनमा आएको हो। दोस्रो सातासम्म पनि चलचित्रले हाउसफुल प्रदर्शन गरिरहेको निर्माता थापाले जानकारी दिए।

चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप’ ले हालसम्म ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ र ७५ हजारभन्दा बढी दर्शकले चलचित्र हेरीसकेका छन्। चलचित्र अहिले अमेरिका, अस्ट्रेलिया र माल्टामा पनि प्रदर्शन भइरहेको छ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा सगरमाथा आरोहण र यात्राको क्रममा फस्टाएको प्रेमकथा प्रस्तुत गरिएको छ। चलचित्रमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तलगायतका कलाकारको दमदार अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: