पोखरामा पर्यटकको भीड, खुला हिमाल, सुहावना मौसम र लामो बिदाले पुनः फस्टाउँदै पर्यटन

Share:

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र फेरि उत्साहले भरिएको छ । दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण हाल पोखरामा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको छ । यसले लामो समयदेखि संकटमा परेको पर्यटन व्यवसायमा नयाँ जीवन भरेको छ ।

लेकसाइडदेखि ड्यामसाइडसम्मका होटल, रेस्टुरेन्ट र बारहरू अहिले पर्यटकले खचाखच छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले लेकसाइडका करिब ९० प्रतिशत होटल फुल बुक छन् । उनले भने, “लामो बिदा र मौसमले सहयोग गरेपछि पोखरासँगै अन्नपूर्ण, मर्दी हिमाल, घोरेपानी-पुनहिलदेखि मुस्ताङसम्मका गन्तव्यमा पर्यटकको चाप बढेको छ ।”

पोखराको पर्यटन क्षेत्रमा हाल करिब आठ खर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ । त्यसमध्ये करिब छ खर्ब होटल व्यवसायमै लगानी भएको र करिब १५ हजार व्यक्तिले यस क्षेत्रमा रोजगारी पाएका छन् । पोखरामा करिब १,२०० होटल सञ्चालनमा छन्, जसमा ७०० भन्दा बढी लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् ।

अन्नपूर्ण पदयात्रा क्षेत्र प्रवेशद्वारका रूपमा रहेको पोखरामा अहिले ट्रेकिङको रौनक पनि बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पोखराका अध्यक्ष कृष्ण आचार्यका अनुसार अन्नपूर्ण, मर्दी हिमाल, घोरेपानी-पुनहिललगायत पदमार्गमा दैनिक सयौँ विदेशी र हजारौँ नेपाली ट्रेकरहरू निस्किरहेका छन् । उनले भने, “पोखरा नेपालकै ट्रेकिङ हब हो । अहिलेको आगमनले हामीलाई थप ऊर्जा दिएको छ, तर यसलाई दीर्घकालीन रूपमा सक्रिय राख्न सरकारको नीतिगत सहयोग जरुरी छ ।”

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पर्यटकले भरिएको पोखरा देख्दा व्यवसायी उत्साहित भएको बताए । “तिहारमा रेस्टुरेन्ट र बारहरूमा अभूतपूर्व चहलपहल छ,” उनले भने, “यसले पोखराको साँझलाई पुनः जीवन्त बनाएको छ ।”

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलका अनुसार अहिलेको मौसमी भीडले मात्रै ठूलो लगानी थेग्न सक्दैन, त्यसैले वर्षभरि पर्यटक भित्र्याउने दिगो रणनीति आवश्यक छ । “पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै दीर्घकालीन योजना बनाउनुपर्छ,” उनले सुझाव दिए ।

फेवातालको शान्त सौन्दर्य, सराङकोटको सूर्योदय, विश्व शान्ति स्तूपा, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई लोभ्याइरहेका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको संख्या झनै बढ्ने अपेक्षा गरिएको छ ।

पोखराको रात अब फेरि चम्किएको छ ताल किनारका रेस्टुरेन्टहरूमा संगीत, साइक्लिङ गर्नेहरू, फेवातालमा डुङ्गा चलाउने जोडीहरू र हिमालको फेदीमा मुस्कुराउँदै उभिएको शहरले फेरि आफ्नो पहिचान फिर्ता पाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: