
पोखरा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालको स्याङ्जाको पुतलीबजार नगरपालिका-१४, आम्बोटमा मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
४५ वर्षका लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा घटनास्थलबाट करिब १०० मिटर तल खसेका थिए। उनलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल स्याङ्जा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार, लम्साल सतौंचण्डीस्थानबाट आफ्नो निवास लामागे फर्कँदै गर्दा दुर्घटना भएको हो। हाल दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका-१४, लामागे हो। कास्कीमा कार्यभार सम्हाल्नु अघि उनी सुन्तला सुपरजोन परियोजना कार्यान्वयन एकाइ कार्यालय, स्याङ्जाका प्रमुख थिए। स्याङ्जामा सुन्तला खेतीको विस्तार र कृषक सशक्तीकरणमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
स्व. लम्सालका बुबा-आमा, पत्नी, एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार, उनको शनिबार बिहान पोस्टमार्टमपछि अन्तिम संस्कार गरिएको छ।
कृषि क्षेत्रमा समर्पित, विनम्र र कर्मठ व्यक्तित्वका रूपमा परिचित लम्सालको असामयिक निधनले सहकर्मी, कृषक र कृषि क्षेत्रका सरोकारवालाबीच गहिरो दुःख र शोकको लहर छाएको छ।
