
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्वलाई प्रकृति र मानव जीवनबीचको सन्तुलन स्थापित गर्ने महान् पर्वका रूपमा व्याख्या गरेका छन् ।
छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भने, “मानव जीवनका लागि अनिवार्य तत्व-जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको आदर र आभारको प्रतीक हो।”
भट्टले शुभकामना सन्देशमा उल्लेख गरे, “शुद्धता र स्वास्थ्यप्रति सचेतना यस पर्वको अर्को विशेषता हो, जसले शारीरिक तथा मानसिक दुवै सन्तुलनमा सहयोग पुर्याउँछ। धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न हाम्रो देशमा मनाइने यस्ता पर्वहरूले राष्ट्रिय एकता र सामाजिक समरसता मजबुत बनाएका छन्।”
प्रदेश प्रमुख भट्टका अनुसार, परम्परागत रूपमा तराई-मधेश क्षेत्रमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा काठमाडौं, पोखरा तथा पहाडी-हिमाली जिल्लाहरूमा पनि श्रद्धा र भक्तिपूर्वक मनाइने परम्परा बढ्दो क्रममा छ। यसले धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले सबै नेपालीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गरेको स्पष्ट प्रमाण प्रस्तुत गर्छ।
भट्टले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, मेलमिलाप, सहमति र सद्भाव बलियो बनाउँदै शान्ति र अमनचैन कायम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
