
पोखरा । गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पदयात्रामा निस्किने पर्यटक र पर्यटन व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सोमबारदेखि बुधबारसम्म प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र भारी हिमपात हुने सम्भावना रहेको छ। यसले पदयात्रा, पर्वतारोहण र पर्यटनसम्बन्धी गतिविधिमा प्रत्यक्ष असर पार्ने भएकाले सावधानी आवश्यक भएको प्रशासनले जनाएको छ।
कास्की प्रशासनका अनुसार पछिल्ला दिनमा पदयात्राका क्रममा ‘लेक लाग्ने’ समस्या देखिनुका साथै मृत्यु र आपतकालीन उद्धारका घटनाहरू बढेका छन्। यस्तै अवस्थाको पुनरावृत्ति हुन नदिन सावधानी अपनाउन प्रशासनले विशेष अनुरोध गरेको हो।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गरी मात्र यात्रा गर्नुहोस्। अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका हिमाली पदमार्गमा मौसम सुधार नभएसम्म यात्रा नगर्नुहोस्। पर्याप्त तयारी, अग्रिम बुकिङ र आवश्यक सामग्रीसहित समूहमा यात्रा गर्नुहोस्।”
विज्ञप्तिमा पदयात्रा अघि न्यानो कपडा, तातोपानी, औषधि लगायत आवश्यक सामग्री बोक्ने, धुम्रपान र मद्यपान नगर्ने, र ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल्लो उचाइमा झर्ने सल्लाह दिइएको छ।
यस्तै, प्रशासनले स्थानीय तह, होटल, पर्यटन व्यवसायी र ट्रेकिङ एजेन्सीहरूलाई समेत पूर्वतयारी र सहकार्यका साथ पर्यटकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
आपतकालीन सम्पर्क नम्बरहरू
-
नेपाली सेना: ०६१–५८११६०, ९७६३२४६०२२
-
नेपाल प्रहरी: १०० (कन्ट्रोल), ९८५६०३९५९९

