जेनजी आन्दोलनमा जलेका अभिलेख पुनः सङ्कलन गर्न गण्डकी प्रदेश सभाको आग्रह

Share:

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई आफ्नो व्यक्तिगत विवरण फाराम पुनः भर्न आग्रह गरेको छ। सचिवालयका सचिव गोविन्द पौडेलले मंगलबार सूचना जारी गर्दै २०८२ भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सचिवालयमा भएको आगजनीबाट सबै विवरण फाराम नष्ट भएकाले पुनः संकलन आवश्यक भएको जनाएका छन्।

गण्डकी प्रदेश सभा नियमावली, २०५० को नियम २०३ बमोजिम प्रत्येक सदस्यले नियमावलीको अनुसूची–६ अनुसारको ढाँचामा व्यक्तिगत विवरण फाराम सचिवालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर, आगजनीका कारण ती अभिलेख पूर्ण रूपमा जलेर नष्ट भएपछि सचिवालयले सबै सदस्यहरूलाई २०८२ कार्तिक मसान्तभित्र नयाँ फाराम बुझाउन अनुरोध गरेको हो।

जसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटो सचिवालयले फाराम भर्दा यी तीनवटा कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने पनि जनाएको छ ।

सचिवालयका अनुसार यो कदम प्रदेश सभाका अभिलेख व्यवस्थापन र अद्यावधिक प्रक्रियालाई सहज बनाउन उठाइएको हो। आगजनीका कारण सचिवालयको भौतिक सम्पत्तिसँगै धेरै महत्त्वपूर्ण कागजातहरू पनि नष्ट भएका थिए।

सदस्यहरूले तोकिएको समयभित्र विवरण फाराम बुझाएमा प्रदेश सभाको प्रशासनिक कार्य व्यवस्थित हुने सचिवालयको भनाइ छ। सचिवालयले यसअघि पनि विवरण बुझाउन आग्रह गरे पनि ‘जेनजी आन्दोलन’ का क्रममा सबै अभिलेख नष्ट भएपछि यो प्रक्रिया पुनः दोहोर्याउनुपरेको हो।

कमेन्ट गर्नुहोस्
Share: