
पोखरा। गत भदौमा आन्दोलनका क्रममा प्रहरी कार्यालयमा गरिएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न फरार एक युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-७, घारीपाटनका २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विवश जलारीको साथबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको CANON कम्पनीको SOCO डिजिटल क्यामेरा (१ थान) र नम्बर प्लेटविहीन 200 CC को NS मोटरसाइकल (इन्जिन नं. JLYCJB77102, च्यासिस नं. MD2A36FY1JCB33360) बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ कि विवश जलारीमाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार विवश जलारी यसअघि पनि ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका कैदी हुन्। उनी २०८२ भदौ २४ गते आन्दोलनकै क्रममा कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरीमा संलग्न भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हाल उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ।
