पोखराको निजी क्षेत्र र जेनजी पुस्ताबीच सहकार्य : व्यावसायिक वातावरण सुदृढीकरणमा साझा पहल

Share:

पोखरा। पोखराको निजी क्षेत्रले हालैको जेनजी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरणलाई पुनः लयमा ल्याउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरूको मनोबल उकास्न जेनजी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार जेनजी पुस्ताका पोखरामा रहेका र सम्पर्कमा आएका प्रतिनिधिहरूसँग पटक–पटकको संवाद र छलफलपछि उद्योगी-व्यवसायी र जेनजीबीच साझा समझदारी र सहकार्यको वातावरण निर्माण भएको हो।

संवाद र साझा प्रतिबद्धता

छलफलका क्रममा जेनजी प्रतिनिधिहरूले निजी क्षेत्रलाई भयरहित वातावरणमा उद्योग/व्यवसाय सञ्चालनका लागि सघाउने र थप लगानी प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएका छन्। यसअघि, पोखराका विभिन्न क्षेत्रका निजी क्षेत्रका प्रतिनिधिहरूको भेलाले अध्यक्ष कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन गरेको थियो। उक्त समितिले जेनजी पुस्तालाई पनि शान्ति, सुरक्षा र व्यवसायिक पुनःस्थापनाका कार्यमा सहभागी गराउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आयोजना गरिएको संवादमा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामी सहभागी भएका थिए। बैठकपछि निजी क्षेत्र र जेनजी पुस्ता दुबै पक्षले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना, र भ्रष्टाचार अन्त्य तथा सुशासनको स्थापनामा संयुक्त आवाज बुलन्द गर्ने निर्णय गरेका छन्।

त्यसैगरी, २०८२ भदौ २३ गतेको दमनको निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारवाही, साथै भदौ २४ गतेको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नहरूलाई कारवाही गरी क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने सहमति पनि गरिएको छ।

संयोजक कार्कीले भने, “व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन र लगानी प्रोत्साहनका लागि दुबै पक्ष एकजुट भएर अगाडि बढ्ने सहमतिमा पुगेका छौँ। सहमति कार्यान्वयनका लागि आवश्यकता अनुसार नियमित छलफल र बैठकहरू हुनेछन्।”

कार्कीका अनुसार जेनजी पुस्ता व्यवसायीमाथि पुनः आक्रमण नहोस्, दोषीमाथि कारवाही होस् र व्यवसायीले क्षतिपूर्ति पाऊन् भन्ने पक्षमा स्पष्ट छ। “परिवर्तनको पक्षमा सो पुस्ताले निभाएको भूमिकाको हामीले सह्राना गरेका छौँ, अब सुशासन र स्थायित्वका मुद्दामा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ,” उनले भने।

जेनजी आन्दोलनका क्रममा पोखराको निजी क्षेत्रले करिब साढे दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति ब्यहोरेको प्रारम्भिक अनुमान रहेको छ। संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेका अनुसार समिति उद्योगी-व्यवसायीको गिरेको मनोबल उकास्नका निम्ति प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजसँग पनि हातेमालो गरेर दीर्घकालीन समाधानको दिशामा काम गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: