
पोखरा । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा अनुसन्धानका लागि राखिएको मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन २४ गते आन्दोलन, तोडफोड र आगजनीका क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधनमध्ये एकवटा मोटरसाइकल चोरी भएको थियो। सोही घटनामा संलग्न व्यक्तिको खोजतलास गर्दै जाँदा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका-१७ दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो।
उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धानका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको X PLUS 200 मोटरसाइकल (इन्जिन नं. MC20AEKGK00393, चेसिस नं. MBLLDU0L0KCK00274) चोरी गरी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई हाल आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
