‘फागुन २१ मै चुनाव हुने संकेत, कांग्रेसले यथार्थमा टेकेर अघि बढ्नुपर्छ’-मुख्यमन्त्री पाण्डे

Share:

पोखरा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आगामी फागुन २१ गतेमै चुनाव हुने सरकारी संकेतहरू आएको बताएका छन्। उनले पार्टीले अब “चुनाव हुँदैन” भन्ने भ्रममा नपरि यथार्थलाई आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिए।

बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, “चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। तर सरकारी रिपोर्टहरू हेर्दा फागुनमा नै चुनाव हुने संकेत स्पष्ट देखिन्छ। त्यसैले कांग्रेसले चुनाव र अधिवेशन दुबैलाई सँगै अघि बढाउने स्पष्ट योजना बनाउनुपर्छ।”

उनले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई संस्थागत निर्णयमा परिणत गर्न सामूहिक सहमति अपरिहार्य भएको बताए। “विचार आफ्ना–आफ्ना हुन्छन्, तर अन्धभक्त हुन हुँदैन। त्यस्तो हुन्थ्यो भने सबै केपी ओलीको पार्टीमा पुगिसक्थे,” उनले कटाक्ष गरे।

मुख्यमन्त्री पाण्डेले हाल कांग्रेस राष्ट्रिय राजनीतिको एजेन्डाबाट बिस्तारै किनारा लाग्दै गएको भन्दै अब पार्टीले देशलाई नेतृत्व दिन सक्ने स्पष्ट दिशा तय गर्नुपर्ने समय आएको बताए।

अधिवेशन र टिकट वितरणबारे बोल्दै उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र मनमुटाव कम गर्न आग्रह गरे। “अधिवेशन गरेर नयाँ नेतृत्वमा आएर टिकट बाँड्छु भन्ने सोच नराखौँ। अब पहिलेको जस्तो मारामार गरेर टिकट बाँड्नुपर्ने अवस्था छैन,” उनले स्पष्ट पारे।

पाण्डेले असहमति जनाउनेहरूलाई पनि पार्टीभित्र बराबरी सम्मानका साथ हेर्नुपर्नेमा जोड दिए। “हस्ताक्षर गर्ने र नगर्ने भनेर छुट्याएर हेर्नु ठीक होइन। नगर्नेहरूलाई टिकट दिँदैन भन्ने सोच नराखौँ,” उनले भने।

४५ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका पाण्डेले अन्त्यमा भने, “अब उत्साहित नबनौँ, नआत्तिऔँ। सबैलाई समेट्ने बाटो खोजौँ, यही हाम्रो पार्टी बलियो बनाउने उपाय हो।”

कमेन्ट गर्नुहोस्
Share: