
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको लामो वार्ता निष्कर्षविहीन भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ अब नयाँ राजनीतिक दल दर्ता गर्न तयारीमा लागेका छन्। उनले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै ‘उज्यालो नेपाल पार्टी’ नाममा नयाँ राजनीतिक शक्ति खडा गर्न लागेको स्रोत बताउँछ। हाल घिसिङ मन्त्री भएकाले पार्टीको तत्कालीन नेतृत्व उनले सम्हाल्ने छैनन्। प्रारम्भिक चरणमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ताको प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। घिसिङका निकट जीतराम वाइबाका अनुसार, शुक्रबारसम्म निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइनेछ।
“मन्त्री भएकाले प्राविधिक कारणले दल घिसिङकै नाममा दर्ता गर्न मिलेन। तर, उज्यालो नेपाल पार्टी उहाँकै भिजनमा खुलेको हो,” वाइबाले बताए। घिसिङले रास्वपासँग पार्टी एकीकरणका लागि तीनवटा प्रस्ताव राखेका थिए ,
१. रास्वपाका सभापति रवि लामिछाने जेलमा रहेकाले क्लिन चिट नआएसम्म आफूलाई कार्यकारी सभापति बनाउने,
२. पार्टीको नाममा ‘उज्यालो’ शब्द समावेश गर्ने,
३. पार्टीको संरचनामा ३० देखि ५० प्रतिशत सम्मको हिस्सेदारी दिने।
तर, रास्वपाले उक्त प्रस्ताव अस्वीकार गरेपछि घिसिङ नयाँ दल दर्ताको निष्कर्षमा पुगेका हुन्। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, कार्यबाहक सभापति डोलप्रसाद अर्याल, र नेता शिशिर खनालसँग घिसिङले प्रत्यक्ष, फोन र एसएमएसमार्फत धेरैपटक संवाद गरेका थिए।
“कुलमानजीले कार्यकारी सभापति नभई हुँदैन भन्ने अडानबाट कहिल्यै पछाडि हट्नुभयो,” रास्वपाका एक उच्च स्रोतले बताए।
रास्वपाले भने घिसिङलाई पार्टीमा स्वागत गर्न तयार रहेको तर सभापतिको पद बाँड्न नसकिने स्पष्ट गरेको छ। प्रवक्ता मनीष झाले भने, “हामी सहकार्य र संवादमै छौँ, तर पार्टीको विधि र संरचना तोडेर नेतृत्व साटासाट गर्न सकिँदैन।”
कुलमान घिसिङको नयाँ राजनीतिक कदममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समर्थन खुलेर देखिएको छ। स्रोतका अनुसार बालेनका नजिकका सहयोगी कुमार बेन नख्खु कारागारमै पुगेर रवि लामिछानेसँग भेट गरी नयाँ दलमा सहकार्यको प्रस्ताव राखेका थिए।
“बालेन र उनका सल्लाहकार टोलीले लामिछानेलाई सभापति पद छोडेर कुलमानलाई अगाडि ल्याउन सुझाव दिएका थिए,” रास्वपाका एक नेताले जानकारी दिए।
रास्वपाका नेताहरूका अनुसार, सुमना श्रेष्ठ, सुदन गुरुङ लगायतका नेताहरू पनि कुलमान समूहसँग नजिक छन्। यही कारण पार्टीभित्र शक्ति सन्तुलन बिग्रिने डरले रास्वपाले अन्तिमसम्म कार्यकारी सभापति दिन अस्वीकार गरेको हो।
‘उज्यालो नेपाल पार्टी’ ले घिसिङकै ऊर्जा र सुशासनको भिजनलाई राजनीतिक रूप दिने दाबी गरेको छ। पार्टीको प्रारम्भिक अवधारणा “ऊर्जावान नेतृत्व, पारदर्शी शासन र स्वतन्त्र सोचको राजनीति” भन्ने नारामा केन्द्रित रहने बताइएको छ।
जीतराम वाइबाका शब्दमा, “सरकारमा रहेर काम पनि गर्नुपर्छ, चुनाव पनि गराउनुपर्छ। त्यसैले अहिले पार्टी दर्ता गरिन्छ, घिसिङले पछि नेतृत्व सम्हाल्नेछन्।”
रास्वपाको जवाफ : “घिसिङ आए स्वागत गर्छौं”
रास्वपाका सह-प्रवक्ता गणेश पराजुलीले भने, “हामीले फूल ओछ्याएर स्वागत गर्ने तयारीमै थियौँ, तर उहाँले अलग्गै बाटो रोज्नुभयो। अहिले पनि सहकार्यको ढोका बन्द भएको छैन।” रास्वपाले आगामी शुक्रबार र शनिबार चितवनमा केन्द्रीय समितिको विस्तारित बैठक राख्दै चुनाव केन्द्रित नयाँ रणनीति तय गर्ने तयारी गरेको छ।
