पोखराका राष्ट्रिय भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेत ‘उदयबहादुर बस्नेत स्मृति पुरस्कार’ बाट सम्मानित हुने

Share:

पोखरा । स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठित ‘उदयबहादुर बस्नेत स्मृति भलिबल पुरस्कार’ यस वर्ष पोखराका राष्ट्रिय भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ।

हिमालय क्लब, पोखरा–१६ बाटुलेचौरले सञ्चालन गर्दै आएको यो पुरस्कार प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिन्छ। क्लबका अध्यक्ष मोहन थापाका अनुसार यस वर्षको छनोट समितिको सिफारिसमा खेलाडी बस्नेतलाई सम्मान गर्न लागिएको हो।

बाटुलेचौर निवासी योगेन्द्रबहादुर बस्नेत राष्ट्रिय स्तरका उत्कृष्ट भलिबल खेलाडीका रूपमा परिचित छन्। यसअघि सो पुरस्कारबाट राष्ट्रिय खेलाडी इम राना, लेखनाथ लम्साल र लक्ष्मी गुरुङ सम्मानित भइसकेका छन्।

छनोट समितिमा संयोजक रामबहादुर बानियाँ, सदस्य प्रकाश थापा, राजेन्द्रबहादुर बस्नेत र सदस्य–सचिव तुलबहादुर बस्नेत रहेका थिए। समितिको सिफारिस अनुमोदन गर्दै क्लबले शनिबार सम्मानित खेलाडीको नाम सार्वजनिक गरेको हो।

कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय उदयबहादुर बस्नेतको योगदान स्मरण गर्न स्थापना गरिएको यो पुरस्कारमा नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र सल समावेश गरिएको क्लबका सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए।

उक्त पुरस्कार आगामी पुस १० गते क्लबको २८औं वार्षिकोत्सवका अवसरमा विशेष समारोहबीच प्रदान गरिनेछ।
वार्षिकोत्सवकै अवसरमा यही मंसिर २० गते क्लबले २८औं संस्करणको रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ। सो कार्यक्रमको संयोजकमा खगेन्द्र थापालाई तोकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: