
पोखरा । नेपालका रमणीय र दुर्गम भू–भागहरूमा साहसिक यात्रा गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार पोखराबाट हुम्लातर्फ प्रस्थान गरेको छ।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहितको यो यात्रा टोलीले पर्वत, बाग्लुङ, रुकुमकोट, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५ हजार मिटर उचाइको लाप्चा ला पास हुँदै सम्पन्न गर्नेछ। टोली मंसिर १ गते पुनः पोखरा फर्कने योजनामा छ।
२१ सदस्यीय टोलीलाई पोखरामा आयोजित एक विशेष समारोहबीच पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले सुखद् यात्राको शुभकामना सहित बिदाइ गरे। उनले टोलीका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षको व्यानर हस्तान्तरण गर्दै यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
बिदाइ कार्यक्रममा रेवान पोखराका पूर्व अध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलगायतले शुभकामना दिएका थिए।
संयोजक योगेश भट्टराईका अनुसार यो ‘हुम्ला अन्तिम उपत्यका अभियान’ नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य उजागर गर्ने उद्देश्यसहित अघि बढाइएको हो।
उनले भने, “हुम्ला नेपालको अन्तिम उपत्यका हो, जहाँ पुग्दा नेपालको वास्तविक प्राकृतिक र सांस्कृतिक सम्पदा अनुभव गर्न सकिन्छ। यो यात्राले प्राचीन व्यापारिक बाटो लिमी र लाप्चा ला पासलाई पुनर्जीवित गर्नेछ।”
‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरूको समूह हो, जसले सन् २००८ देखि नेपालको विभिन्न भागमा साहसिक भ्रमण गर्दै आएको छ। सन् २०२० मा ‘डुलुवा’ नाम अपनाएको यस समूहले अहिलेसम्म ७० जिल्लाको भ्रमण गरिसकेको छ। समूहले भारतको लद्दाखदेखि कन्याकुमारीसम्मको यात्रा पनि सफलतापूर्वक सम्पन्न गरेको छ।
यात्राका क्रममा ‘डुलुवा’ समूहले स्थापना गरेको ‘वि विल राइज फाउन्डेशन’ ले नेपाल टेलिभिजनसँग सहकार्यमा तयार पारेको भिडियो प्रतियोगितामा समेत सफलता हासिल गरेको थियो।
समूहको ‘दि नर्दन वाल’ भिडियोले प्रतियोगिताको उपाधि जित्दा, ‘मेरो गाउँ तक्सेरा’ लाई ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’ पुरस्कार प्राप्त भएको थियो।
