
काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ। ट्रफी टूर सुदूरपश्चिम प्रदेशका धार्मिक र पर्यटकीय स्थलहरूमा हजारौं समर्थकको सहभागितामा दुई दिनसम्म चलेको थियो।
टुरको पहिलो दिन खड्क चोकबाट सुरु भएर चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो। दोस्रो दिन धनगढीको सिद्धार्थ बैंकबाट ट्रफी टुर सुरु भएर चौराह चोक, कभर्डहल र अत्तरिया चोकमा प्रदर्शन गरिएको थियो।
ट्रफी अनावरण नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले गरेका थिए। टोलीका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दीपक विष्ट, र खेलाडीहरू नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी सहभागी थिए।
ट्रफी टुरमा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थम प्रस्तुत गरेर उत्सव झनै रंगीन बनाएका थिए।
सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, स्कट कुग्गेलिजन, क्रिस लिन र जोस ब्राउन लगायतका खेलाडीहरू छन्।
यो ट्रफी टूरले एनपीएलको उत्साह सुदूरपश्चिमभर फैलाएको बताइएको छ।
