गण्डकी प्रदेशसभा सांसदहरूद्वारा जेनजी आन्दोलनको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

Share:

पोखरा । गण्डकी प्रदेशसभाका सांसदहरूले भदौ २३ र २४ गते देशभर भएका ‘जेनजी’ आन्दोलनका घटनामा परेको मानवीय र भौतिक क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा सांसदहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

सांसद देवका पहारी त्रिपाठीले सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित भएको आन्दोलनमा देशी-विदेशी घुसपैठका कारण ठूलो क्षति भएको भन्दै दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरिन्। गणेशमान गुरुङले ‘जेनजी’ आन्दोलनपछि देशको राजनीतिक दिशामै परिवर्तन आएको दाबी गर्दै विषयमा विशेष छलफलको समय निर्धारण गर्न माग गरे।

पूर्वमन्त्री फणिन्द्र देवकोटाले भदौ २३ र २४ का दुवै घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। उनले नेताहरूको अहमता र घुसपैठका कारण क्षति भएको बताउँदै अपराधी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

त्यसैगरी सांसदहरू नन्दकला दमै नेपाली, बेदबहादुर गुरुङ, भीमबहादुर कार्की, लिलबहादुर थापा मगर, श्यामराजा महतलगायतले आन्दोलनको कारण र परिणामबारे सत्य तथ्य पत्ता लगाउन प्रदेशस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरे।

सांसद सुनीता थापाले ‘जेनजी’ आन्दोलन परिवर्तनका लागि उठेको जनचेतना भएको बताउँदै २४ गतेको हिंसाको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने भनिन्। त्यस्तै रेशम जुग्जालीले आन्दोलनका सकारात्मक र नकारात्मक पक्षमा खुला बहस हुने वातावरण बनाउन आग्रह गरे।

बैठकमा अन्य सांसदहरूले बेमौसमी वर्षाबाट धान नष्ट भएका किसानलाई क्षतिपूर्ति दिन, पोखरा-बागलुङ सडक मर्मत गर्न, नर्सहरूको आन्दोलन समाधान गर्न र अस्पताल व्यवस्थापन सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसदहरूको एकमत थियो ‘जेनजी’ आन्दोलनको सत्य तथ्य उजागर नगरेसम्म देशमा शान्ति र स्थायित्व आउन सक्दैन।

कमेन्ट गर्नुहोस्
Share: