नवौं पोखरा स्पोर्ट्स अवार्डको आय-व्यय सार्वजनिक, ५७ हजार रुपैयाँ बचत

Share:

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ को आय-व्यय विवरण सार्वजनिक गरिएको छ। मञ्चको सातौं साधारण सभाका अवसरमा एक विशेष कार्यक्रममार्फत कोषाध्यक्ष विमल तिवारीले सार्वजनिक गरेको विवरण अनुसार अवार्ड कार्यक्रमबाट कुल रु. १७ लाख ३ हजार ९६९ आम्दानी भएको थियो।

त्यसमध्ये रु. १६ लाख ४६ हजार ६ सय ६९ खर्च भई रु. ५७ हजार ३ सय रुपैयाँ बचत भएको जानकारी दिइएको छ। कोषाध्यक्ष तिवारीले पेश गरेको आय-व्यय विवरण उपस्थित सदस्यहरूले सुझावसहित पारित गरेका छन्। कार्यक्रममा अवार्डको नवौं संस्करणको समीक्षा समेत गरिएको थियो। खेलकुद पत्रकार मञ्च गण्डकीले खेलाडी तथा खेल क्षेत्रका क्रियाशील व्यक्तिहरूलाई सम्मान र प्रेरणा प्रदान गर्ने उद्देश्यले सन् २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको हो।

यस वर्षको अवार्डमा वर्ष खेलाडी (महिला) तर्फ अरुणा शाही र पुरुष तर्फ विश्वास अधिकारी ले शीर्ष उपाधि जितेका छन्। त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको थियो।

उदीयमान खेलाडी तर्फ क्रिकेटकी रचना चौधरी, उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ, उत्कृष्ट खेल संस्था म्याग्दी जिल्ला भलिबल संघ र वर्ष खेल पत्रकार को रुपमा विजय नेपाल सम्मानित भए। खेलकुद पत्रकार मञ्च गण्डकी गण्डकी प्रदेशका सम्पूर्ण खेल पत्रकारहरूको साझा संस्था हो, जसले प्रदेशभित्रका खेलकर्मीलाई उर्जा र प्रेरणा प्रदान गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: