
पोखरा। गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ५८ कर्मचारीको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सिडिओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन्।
सरुवा हुने कर्मचारीहरूमा सहसचिव र उपसचिव छन्। अजिता शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ। दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
त्यसैगरी जुम्लामा दिपक पौडेल र डोटीमा कल्पना घिमिरे नेपाललाई सिडिओ बनाएर पठाइएको छ। दीपक पौडेल स्याङ्जा र गंगाबहादुर क्षेत्री पर्वतमा सहायक प्रजिअ थिए । मुस्ताङका प्रजिअ विष्णु भुसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी कास्कीका सहायक प्रजिअ कुलशेखर अर्याल पनि मन्त्रालय फर्केका छन् । उनको ठाउँमा चितांगद सिग्देल आएका छन् । प्रदेशको भौतिक मन्त्रालयमा कार्यरत उपसचिव प्रेम सुवेदीले स्याङ्जाको सहायक प्रजिअको जिम्मेवारी पाएका छन् ।
