गण्डकी प्रदेशसभा भवन जलेपछि अस्थायी संसद पशुपंक्षी निर्देशनालयमा सारिँदै, नयाँ भवन बन्न दुई वर्ष लाग्ने

Share:

पोखरा । जेनजी आन्दोलनबाट गण्डकी प्रदेश सभाको कार्यालय पूर्णरुपमा जलेपछि करिब दुई महिनासम्म ठप्प बनेको प्रदेशसभा अब नयाँ स्थानबाट सञ्चालन हुने भएको छ। कात्तिक २४ गते साना भाडाका सामग्री प्रयोग गरेर मन्त्रालयको साँघुरो सभाहलमा तात्तातै सुरु गरिएको बैठक अब सरकारले खारेज गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको भवनबाट सञ्चालन गरिने निर्णय भएको छ।

प्रदेशसभा सचिवालयले आफ्नै भवन तयार नहुदासम्म निर्देशनालयलाई नै वैकल्पिक सभाहलका रूपमा उपयोग गर्ने निर्णय मन्त्रालयपरिषद्ले पनि स्वीकृत गरिसकेको छ। सरकारका प्रवक्ता डा. टकराज गुरुङका अनुसार निर्देशनालयलाई संसद्को रूपमा प्रयोग गर्न दिने निर्णय मन्त्रिपरिषद्बाट पास भइसकेको छ।

यस्तै, सभामुख कृष्ण धितालले पनि आवश्यकताअनुसार ‘कामचलाऊ’ रूपमा संसद् सार्न लागिएको बताए। उनका अनुसार हिउँदे अधिवेशनदेखि निर्देशनालयबाटै प्रदेशसभा सञ्चालन हुने सम्भावना उच्च छ। “कोठा सबैका लागि पर्याप्त त छैन, तर तत्कालका लागि काम चल्ने रिपोर्ट आएको छ,” उनले भने।

१६ करोडभन्दा बढीको क्षति, सबै अभिलेख जले

जेनजी आन्दोलनका क्रममा प्रदेश सभामा भएको आगजनी र लुटपाटबाट १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। दुईतले प्रशासनिक भवन, मुख्य सभाहल, समितिका कक्ष, दलका कार्यालय, पुस्तकालयदेखि लिएर कम्प्युटर, ल्यापटप, अभिलेख सबै पूर्ण रूपमा नष्ट भएका छन्। संसद्का ६ चारपाङ्ग्रे र १२ दुईपाङ्ग्रे सवारीसाधन समेत जल्दा सभाको सम्पूर्ण संरचना ध्वस्त भएको सचिवालयले जनाएको छ।

२५ करोडको नयाँ भवन बन्न अझै २ वर्ष

नदीपुरमा २५ करोड लागतमा नयाँ प्रदेशसभा भवन बन्दैछ। तर निर्माण कार्य पूरा हुन अझै २ वर्ष लाग्ने भएकाले वैकल्पिक कार्यालयको खोजी गर्नुपरेको सचिव गोविन्द पौडेलले बताए। नदीपुरमै पहिलेको संसद् भवन रहेको ठाउँ नजिकै नयाँ संरचना निर्माण भइरहेको छ।

सभामुख धिताल भन्छन्, “भाडाका भवन वा नयाँ खर्च गर्नु उचित देखिएन। निर्देशनालयमै काम चलाउँदा राज्यलाई अतिरिक्त बोझ नपर्ने भएकाले यही विकल्प रोज्यौं।” आर्कषक हेडलाइन बनाइदिनुन

कमेन्ट गर्नुहोस्
Share: