गण्डकी विश्वविद्यालयमा नयाँ ऊर्जा, डा. कैलाश तिमिल्सिना निमित्त उपकुलपतिमा नियुक्त

Share:

पोखरा । गण्डकी विश्वविद्यालय नेतृत्वमा नयाँ मात्र होइन, उत्साहजनक परिवर्तन आएको छ। विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी (न्यासिक परिषद) ले डा. कैलाश तिमिल्सिनालाई निमित्त उपकुलपतिमा नियुक्त गरेको हो।

असोज पहिलो सातासँगै तत्कालीन उपकुलपति डा. नवराज देवकोटाको कार्यकाल समाप्त भएपछि पद खाली रहँदा विश्वविद्यालयका महत्त्वपूर्ण कामहरू स्थगित हुँदै आएका थिए। अब भने डा. तिमिल्सिनाको नेतृत्वसँगै विश्वविद्यालयको पहिलो ऐतिहासिक दीक्षान्त समारोहदेखि दीर्घकालीन शैक्षिक सुधारसम्मका काम तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ।

थाइल्यान्डको प्रतिष्ठित महिडोल विश्वविद्यालयबाट जनसांख्यिकीमा पीएचडी, तथा अमेरिकाको मियामी विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका डा. तिमिल्सिना शिक्षा तथा अनुसन्धान क्षेत्रमा एक स्थापित नाम मानिन्छन्। उनका शिक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक विषयक लेखहरू राष्ट्रिय दैनिकहरूमा नियमित प्रकाशित हुने गरेका छन्।

नयाँ जिम्मेवारी पाएसँगै उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, पारदर्शी प्रशासन, गुणस्तरीय शैक्षिक कार्यक्रम विकास तथा दीर्घकालीन शैक्षिक दृष्टिकोण लागू गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्।

हालै संशोधन गरिएको गण्डकी विश्वविद्यालय ऐनअनुसार बोर्ड अफ ट्रस्टीको सचिवको जिम्मेवारी पनि उनले नै सम्हाल्नेछन्, जसले विश्वविद्यालयको नीतिगत नेतृत्वमा उनको भूमिका अझ मजबुत बन्नेछ। गण्डकी विश्वविद्यालय अब नयाँ नेतृत्वमा उद्यम, सुधार र परिणाममुखी यात्रातर्फ अघि बढ्ने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: