
पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार विशाल जुलुससहित खबरदारी सभा सम्पन्न गरेको छ। ‘लोकतन्त्रको जगेर्ना, संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध’ भन्ने नारासहितको जुलुस सिर्जनाचोक, बुद्धचोक र नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्पअगाडिबाट सुरु भई पृथ्वीचोकमा पुगेपछि भव्य सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले मुलुकमा शान्तिपूर्ण वातावरण नबनेसम्म फागुन २१ को चुनाव सम्भव नहुने दाबी गरे। संविधान विपरीत बनेको सरकारले “हर्षबढाई गरेर मात्र चुनाव कराई नहुने” उल्लेख गर्दै उनले सुरक्षा अवस्था विग्रिएको गम्भीर चित्र प्रस्तुत गरे।
अधिकारीले प्रहरीबाट लुटिएका हतियार अझै फिर्ता नभएको, फरार अपराधीलाई जेल हालिएको नसकेको, र “त्यही हतियारसहित अपराधी मतदान केन्द्रमा देखिन सक्ने जोखिम” रहेको बताए। उनका अनुसार यस्तो परिस्थितिमा चुनाव गराउन खोजिए मतदान केन्द्रहरू ‘रणभूमि बन्ने’ सम्भावना अत्यन्तै उच्च छ। अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं बाहिर जान रोक्ने प्रयास संविधानविपरीत भएको उनको आरोप थियो। “व्यक्तिको स्वतन्त्र आवाज र हिँडडुलमै प्रतिबन्ध लगाएर चुनाव चल्दैन,” अधिकारीले भने। उनले प्रधानमन्त्री सुशीला कार्कीले दलसँग संवाद नगर्नु र नेताहरूलाई स्थानहद तोक्नु लोकतान्त्रिक चरित्रविपरीत भएको आरोप पनि लगाए।
त्यसअघि उनले नेपाललाई “सिक्किम-भुटानजस्तो बनाउने बाह्य षड्यन्त्र”बारे चेतावनी दिंदै छिमेकी भारत र चीनलाई असल छिमेकीको भूमिकामा रहन सुझाव दिए। संसद पुनःस्थापना गरी स्पष्ट रोडम्यापसहित सुशासन र भ्रष्टाचार नियन्त्रणका काम अघि बढाउनुपर्ने उनको अडान थियो। जेन्जी पुस्ताको आन्दोलनलाई लिएर उनले “व्यवस्था नै समाप्त गर्ने प्रयास भइरहेको” टिप्पणी गरे। एमाले नेतृत्वमा विकास दर ५.२ प्रतिशत रहेको अवस्थामा अहिले २ प्रतिशतमा झर्नु ठूलो पश्चगमन भएको उल्लेख गर्दै उनले अराजकता, आगजनी, तोडफोड र लुटपाटका घटनाले हजारौँको रोजगारी गुमेको बताए। यी घटनाको निष्पक्ष छानबिनका लागि अर्को आयोग गठन गर्न उनले माग गरे।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नारा सहितको जनसभामा पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य कृष्ण थापा, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतका नेताहरूले मन्तव्य राखे। कार्यक्रमका क्रममा कलाकार पार्वती जिसी लगायतले आकर्षक सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।
कास्कीमा आयोजित यो खबरदारी कार्यक्रमले प्रदेशभर राजनीतिक तापक्रम झनै तातिएको विश्लेषकहरूको बुझाइ छ।
