
पोखरा । नेपाल सरकारले नेपाल राजपत्र मिति २०८२/०४/०८० मा प्रकाशित सूचनाअनुसार पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ बमोजिम पशु क्वारेन्टाइन कार्यालय पोखरा स्थापना गरेको छ। गण्डकी प्रदेशमा पहिलोपटक स्थापना भएको यो कार्यालयले पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादनको आयात-निर्यातमा रोगजन्य जोखिम रोकथाम र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउनेछ। नयाँ कार्यालयअन्तर्गत दुई प्रमुख चेकपोष्ट तोकिएका छन्। जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय चेकपोष्ट) तथा कोरला, मुस्ताङ (सीमा चेकपोष्ट) रहेका छन्। यो सुविधा सुरु भएपछि विदेशी तथा सीमा क्षेत्रबाट भित्रिने पशु, पशुजन्य उत्पादन एवं सामग्रीको गुणस्तर परीक्षण र रोग निगरानी अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
गत बिहीबार पोखरा लामपाटनस्थित कार्यालय भवनको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा। पशुपति ढुंगाना र पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले संयुक्त रूपमा गरेका हुन्। समारोहमा विभागका उप-महानिर्देशकद्वय डा. सुलोचना श्रेष्ठ र डा. प्रेरणा सेढाँई भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख डा. जगदिश पाण्डेय, पशुपन्छी अनुसन्धान तथा प्रशिक्षण केन्द्रका वरिष्ठ अधिकृत डा. गृष्म नेउपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख शम्भुराज पाण्डे, साथै पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख डा। पवन पाण्डे सहित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कोरला नाकाबाट आयात-निर्यात तीव्र गतिमा बढ्दो तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी भइरहेकै बेला यो कार्यालय स्थापनाले प्रदेशमा रोग प्रवेश रोकथाम, सम्भावित संक्रमण नियन्त्रण, गुणस्तरीय निगरानी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्वारेन्टाइन सेवा सुनिश्चित गर्नेछ। यसले गण्डकी प्रदेश तथा राष्ट्रभर पशुपन्छीजन्य उत्पादनको सुरक्षित र व्यवस्थित व्यापार विस्तारमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यालय प्रमुख डा. किरण पाण्डेका अनुसार यो कार्यालय गठनले प्रदेशमै नभई राष्ट्रिय तहमा पशु स्वास्थ्य सुरक्षा सुदृढ पार्ने ऐतिहासिक कामको सुरुवात भएको छ।

