
पोखरा । सासेक मुग्लिङ-पोखरा राजमार्ग सुधार योजना (पश्चिम खण्डअन्तर्गत) अन्तर्गत निर्माणाधीन विजयपुर खोला पुलमा निर्धारित गर्डर लन्चिङ कार्य आकस्मिक रूपमा स्थगित गरिएको छ।
सडक विभाग, आयोजना निर्देशनालय (ए.डी.बी.) पश्चिम खण्डले जारी गरेको पत्र (प.सं. ०८२/८३, च.नं. १४१) अनुसार गर्डर लन्चिङका लागि प्रयोग हुनुपर्ने क्रेनमा देखिएको प्राविधिक समस्याका कारण आजदेखि सुरु हुने भनिएको काम सम्पन्न गर्न नसकिने जनाएको हो।
यसअघि मिति २०८२/०८/०३ देखि २०८२/०८/११ सम्म पुलमा Girder Launching गर्ने तयारी गरिएको थियो र सो क्रममा ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीसहित सम्बन्धित निकायलाई अनुरोध गरिएको थियो। तर, अचानक उत्पन्न समस्या समाधान नभएसम्मका लागि कार्य स्थगन गरिएको स्पष्टीकरण आयोजना कार्यालयले दिएको छ।
आयोजनाका प्रमुख कृष्ण बहादुर कुँवरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,“Crane मा आएको प्राविधिक समस्याका कारण भोलिदेखि Girder Launching को कार्य गर्न नसकिएको जानकारी गराइन्छ। समय पुनः तोकिएपछि फेरि जानकारी गराइनेछ।”
योजनाले नयाँ मिति तोकेपछि पुनः सम्बन्धित सबै निकायलाई सूचित गरिने बताइएको छ। उक्त आयोजनामा Anhui Kaiyuan Highway and Bridge Co. Ltd. निर्माण व्यवसायी तथा Renardet SA, Soil Test Pvt. Ltd. र CEMAT Consultants Pvt. Ltd. परामर्शदाता छन्।
पुल निर्माण स्थगित भएकोमा स्थानीय बासिन्दा तथा यातायात सरोकारवालाहरूले वैकल्पिक व्यवस्थामा ध्यान दिन अनुरोध गरेका छन्।

