पोखराका पत्रकार धनबहादुर गुरुङलाई सुमन युवा पत्रकारिता पुरस्कार

Share:

पोखरा। पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार आयोजना गरेको कार्यक्रममा संघीय सचिव एमबी आस्थामगरले गुरुङलाई नगद र समानपत्रसहित सम्मान प्रदान गरे।

पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औँ वैवाहिक वार्षिकोत्सवको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो। सम्मानित गुरुङले पत्रकारितामा थप दृढताका साथ अघि बढ्न प्रेरणा मिलेको बताए।

फोनिजका संघीय सचिव एमबी आस्थाले भने, “पत्रकारिताको बाटोमा अन्योलता बढिरहेको अवस्थामा प्रतिष्ठित व्यक्तिहरूको सहयोगले पत्रकारलाई हौसला मिल्छ।” पुरस्कारदाता मेजर लक्ष्मीप्रसाद गुरुङले पनि पत्रकारहरूसँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै भविष्यमा पुरस्कार राशी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

धनबहादुर गुरुङले २०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए। अहिले उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन्।

पत्रकारिता संघसंस्थामा पनि उनी सह–सचिव, उपाध्यक्ष र सचिव पदमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। यसअघि उनले युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ पनि प्राप्त गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: