
पोखरा । पोखराको नदिपुरस्थित प्रतिष्ठित प्रतिभा माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको स्पोर्टस् फेस्ट-२०८२ उत्साह, रंगरङ्गी र प्रतिस्पर्धाको माहोलसँगै प्रारम्भ भएको छ। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यो खेल महोत्सव दुई सातासम्म चल्नेछ।
कार्यक्रमको उद्घाटन प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गर्दै खेलकुदले विद्यार्थीलाई सामूहिक भावना, प्रतिस्पर्धात्मक क्षमता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले शिक्षासँगै प्रतिभाले खेलकुद र अतिरिक्त गतिविधिमा गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गरे।
सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा विद्यालय देशकै अग्रणी शिक्षालयको रूपमा स्थापित भइसकेको बताउँदै खेलकुद र रचनात्मक गतिविधिमा पनि विद्यालय अगाडि रहेको बताए।
“खेलकुदले अनुशासन बलियो बनाउँछ, स्वस्थ जीवनको आधार हो, र जीवनलाई अघि बढाउने अवसरसमेत दिन्छ, त्यसैले हामीले विद्यालय तहमै खेलकुदलाई उच्च प्राथमिकता दिएका छौं,” पौडेलले भने।
विद्यालयका प्राचार्य किरण सापकोटाले शिक्षामा जस्तै खेलकुदमा पनि प्रतिभा विद्यालय निरन्तर अग्रपंक्तिमा रहेको उल्लेख गर्दै खेलकुद मानव स्वास्थ्यका लागि जग हो र विद्यालयले यसमा कुनै सम्झौता नगर्ने बताए।
कार्यक्रम ईसीए प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेका थिए भने सह(प्राचार्य प्रदीप खनालले चार सदन-हरियो, रातो, पहेंलो र नीलोका हाउस क्याप्टेनहरूलाई आकर्षक सपथ प्रशासन गराएका थिए।
स्पोर्टस् फेस्टमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत दौड, अन्य एथलेटिक्स सामूहिक (अन्तरसदन) स्पर्धातर्फ बास्केटबल, भलिबल, फुटबल, रिले दौड लगायत विभिन्न खेलहरू समावेश गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले विद्यार्थीहरूको मनोबल वृद्धि तथा प्रतिभा प्रस्फुटनका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएको छ। सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्लजस्ता खेल प्रतिभाहरूलाई विद्यालयले भव्य समारोहमार्फत जनही एक लाख रुपैयाँका दरले सम्मान गरिसकेको छ। मानवीय सेवा, सामाजिक उत्तरदायित्व र गुणस्तरीय शिक्षा अभियानमै सक्रिय प्रतिभा विद्यालय आइएसओ प्रमाणित शिक्षालय पनि हो।
शिक्षा, खेलकुद र व्यक्तित्व विकासलाई समान महत्व दिने दृष्टिकोणका कारण प्रतिभा माध्यमिक विद्यालय पोखराको मात्र नभई देशकै उत्कृष्ट र बहुआयामिक शिक्षालयका रूपमा स्थापित हुँदै आएको छ। स्पोर्टस् फेस्ट–२०८२ ले यो पहिचानलाई अझ उज्यालो बनाउने विद्यालय प्रशासनको विश्वास छ।
