
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ९६ घण्टे भुटान भ्रमण पूरा गरी आज पारोबाट पोखरा फर्किएका छन् । थिम्पु र पारोका विभिन्न सरकारी तथा गैर-सरकारी निकाय, पर्यटन संस्था तथा स्थानीय अधिकारीहरूसँगको उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय बैठकहरू सकाएर उनी पारो विमानस्थलबाट रिटर्न फ्लाइटमार्फत नेपाल फर्किएका हुन्।
मेयर आचार्यले भ्रमणको निष्कर्षबारे बताउँदै भने, “आज फर्किने विमान खाली भए पनि निकट भविष्यमा पारो-पोखरा मार्गमा यात्रुभारसहितका नियमित उडानहरू सञ्चालन हुने पूर्ण विश्वास लिएको छु।” भ्रमणका क्रममा पोखरा-भुटान पर्यटन प्रवद्र्धन, दुवै पक्षबीच सांस्कृतिक आदान–प्रदान, उड्डयन सहकार्य र सम्भावित संयुक्त लगानीका विषयहरूमा महत्वपूर्ण छलफलहरू भएका छन्।
आचार्यका अनुसार भुटानी पर्यटकलाई आकर्षित गर्ने गरी पोखरामा नयाँ पर्यटन प्याकेज विकास गर्ने र भुटान-नेपाल हवाई सम्पर्कलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा पनि सहमति नजिकिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूका मत अनुसार पारो-पोखरा चार्टर तथा नियत उडान सुरु हुन सके पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढ्नेछ र भूटान-नेपाल पर्यटन प्रवाहमा नयाँ आयाम थपिनेछ।
मेयर आचार्यको यो भ्रमण पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा क्षेत्रीय पर्यटन वृद्धि गर्ने प्रयासमा अत्यन्तै महत्वपूर्ण कदम मानिएको छ।
