
पोखरा । गण्डकी प्रदेशका उद्योगहरूले पछिल्लो वर्ष उत्पादन क्षेत्रमा मिश्रित तर महत्वपूर्ण संकेतहरू दिएका छन्। नेपाल राष्ट्र बैंकको ताजा प्रतिवेदनले चाउचाउ, चुरोट र बियर जस्ता उत्पादनमा उल्लेख्य उछाल देखाउँदा केही परम्परागत वस्तुहरू भने ओरालो लागेको चित्र प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा ठूलो वृद्धि चाउचाउ उत्पादनमा देखिएको छ। ४४.९८ प्रतिशतले उकालो लागेको चाउचाउ उद्योगले एकै वर्षमा ४,१०३ मेट्रिक टनबाट ५,९४९ मेट्रिक टन उत्पादन गर्दै प्रदेशमा सबैभन्दा छिटो बढ्दो उद्योगको दर्जा पाएको छ।
मदिरा र चुरोट उद्योगको उत्पादन वृद्धि
बियर उत्पादन १२.२६ प्रतिशतले बढ्दै ९ करोड ४० हजार लिटरबाट १० करोड ५६ हजार लिटर पुगेको छ। चुरोट उत्पादन पनि ३ अर्ब ५७ करोड ३० लाख खिल्लीबाट बढेर ३ अर्ब ९४ करोड ९३ लाख खिल्ली पुगेको छ। त्यसैगरी क्याप्सुल औषधी, चुटोर, दुध र तोरी तेल उत्पादनमा पनि सकारात्मक वृद्धि देखिएको छ। उत्पादन वृद्धि जति प्रभावशाली भए पनि सबै क्षेत्र उज्यालो छैनन्। चक्लेट उत्पादन ३,१०९ मेट्रिक टनबाट घटेर २,९४३ मेट्रिक टनमा सीमित भयो। बिस्कुट ७,११६ मेट्रिक टनबाट झर्दै ६,६०८ मेट्रिक टनमा आइपुग्यो। ट्याबलेट औषधी उत्पादन झनै घट्दै १६।२५ करोड थानमा सीमित भएको छ।
उत्पादन क्षमताको उपयोग घट्दो
प्रदेशका उद्योगहरूले आफ्नो क्षमता पूरा उपयोग गर्न नसकिरहेको तथ्यले चिन्ता व्यक्त गरेको छ। २०८१/८२ मा उद्योगहरूले औसत ३९.१९ प्रतिशत मात्र क्षमता उपयोग गरे, जुन अघिल्लो वर्षभन्दा झिनो ०.०३ प्रतिशत कम हो। सबैभन्दा धेरै क्षमता उपयोग गर्ने उद्योगमा बिस्कुट ६५.३१ प्रतिशत, बियर ६४.६ प्रतिशत, लिक्विड औषधी ६०.२३ प्रतिशत, चुरोट ५४.८५ प्रतिशत तथा तोरीको तेल ५०.९९ प्रतिशत रहेको छ ।
सबैभन्दा कम उपयोग गर्न सक्ने क्षेत्रमा इँटा उद्योग, आइन्टमेण्ट औषधी र ड्राइ सिरप रहेका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ देखिन्छ।
कर्जा प्रवाहमा १० प्रतिशत गिरावट
उद्योग विकासमा आवश्यक कर्जा प्रवाह पनि घटेको छ। २०८१/८२ मा औद्योगिक क्षेत्रमा २७ अर्ब ९१ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ, जुन करिब १० प्रतिशतले घटेको हो। कुल कर्जामध्ये उद्योगले ७.८२ प्रतिशत मात्र हिस्सेदारी पाएको छ। सबैभन्दा बढी कर्जा निर्माण क्षेत्रमा २९.८७ प्रतिशत, त्यसपछि गैरखाद्य वस्तु उत्पादन २९.३८ प्रतिशत र कृषि-वन तथा पेय पदार्थ २७.३ प्रतिशत मा प्रवाह भएको छ।
प्रतिवेदनले उद्योग खस्कनुका मुख्य कारण यातायात, सञ्चार, बिजुली, प्राविधिक जनशक्ति र कच्चा पदार्थ आपूर्तिको कमजोरी रहेको बताएको छ। आयात प्रतिस्थापन गर्न सक्ने वस्तुको पहिचान र बजार विस्तारमा ध्यान नदिएको पनि औंल्याइएको छ।
नवलपुर र कास्कीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र
गण्डकी प्रदेश सरकार नवलपुरको लोकाहा खोला र कास्कीको पुँडीटारमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासमा जुट्दैछ। अध्ययनअनुसार यी क्षेत्र विकसित भए प्रदेशमा उद्योग स्थापनासँगै उत्पादनमा उल्लेख्य वृद्धि हुने संभाव्यता रहेको छ।
प्रतिवेदनले गण्डकीमा पर्यटन-केन्द्रित उत्पादनका माग बढाउन सके खाद्य तथा अन्य उद्योगहरूलाई दीर्घकालीन लाभ हुने निष्कर्ष निकालेको छ। प्रदेश पर्यटन, कृषि र उद्योगको समिश्रणमार्फत ‘ब्राण्ड गण्डकी’ बनाउन सक्षम हुने सम्भावना अध्ययनले देखाएको छ।
