
पोखरा । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन कार्यालय पोखराले मर्मतको काम थालेको हो ।
कार्यालयले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुंगासम्म गरी दुई खण्डमा विभाजन गरेर मर्मत अघि बढाएको छ । अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए ।
शिवालय निर्माण सेवामार्फत सडक मर्मतको काम अगाडि बढाइएको छ । बर्खायाम सकिएलगत्तै काम थाल्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेकाले केही ढिलाइ भएको कार्यालयले जनाएको छ । गत बर्खामा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । सब-इन्जिनियर पौडेलले अब छिट्टै यो समस्या हट्ने विश्वास व्यक्त गरे ।
सडक धेरै ठाउँमा बिग्रेकाले मर्मतसम्भारका लागि विनियोजित बजेट अपुग हुने देखिएको पौडेलले बताए । उनले भने, ‘बजेटले भ्याएसम्मको काम समयमा नै हुनेछ ।’
