घार्मीमा पौडेल बन्धुको सामूहिक कुलपूजा मंसिर १८ गते, तयारी अन्तिम चरणमा

Share:

पोखरा । पोखरा महानगरपालिका-१९ घार्मीमा मूल थलो रहेका पौडेल बन्धुको परम्परागत कुलपूजा मंसिर १८ गते धान्य पूर्णिमाका दिन सम्पन्न हुने भएको छ। घार्मीको देउतीपुज्नेस्थित कुल मन्दिरमा विधिपूर्वक पूजा-आजासहित कुलदेवताको आराधना गरिने कुलपूजा व्यवस्थापन समितिले जनाएको छ।

समितिका अध्यक्ष महेश्वर पौडेलका अनुसार पूजा व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। यसै क्रममा गठन गरिएका विभिन्न उपसमितिहरूले सरसफाइ, पत्राचार र व्यवस्थापनका कामलाई तीव्रता दिँदै आएका छन्। उपाध्यक्ष बलराम पौडेलले मन्दिर परिसर चोखोनितो बनाउने कार्य लगभग पूरा भएको बताए।

पौडेल बन्धुहरुले परम्परादेखि गर्दै आएको यो कुलपूजा स्थानीयको सहयोगमा थप व्यवस्थित र प्रभावकारी बनेको समितिका सदस्य लीला पौडेलले बताइन्। मंसिर १८ गते पूजा सम्पन्न भएपछि भजन-कीर्तनसहित रातभर जाग्राम बसेर कुलदेवताको आराधना गरिने सचिव बाबुराम पौडेलले जानकारी दिए।

प्रत्येक तीन वर्षमा एकपटक सामूहिक रूपमा आयोजना हुने यो कुलपूजामा घार्मी मूलथलो भएका तथा देशका विभिन्न भागमा स्थायी-अस्थायी रूपमा बसोबास गर्ने पौडेल बन्धुहरू सहभागी हुने गर्छन्।

यसअघि मंसिर १६ गते घार्मी तथा साविक लामाचौर क्षेत्रका ब्राह्मण समुदायले तिखेढुंगा सामुदायिक वन क्षेत्रमा भुमेपुजा गर्ने तयारी पनि चलिरहेको समितिले जनाएको छ। स्थानीय परम्परा अनुसार उभौली र उधौलीका अवसरमा वर्षमा दुईपटक भुमेपुजा गर्ने चलन छ।

कमेन्ट गर्नुहोस्
Share: