
पोखरा । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १५ राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशमा शक्ति प्रदर्शनको तयारी थालेको छ। कार्तिक १९ गते काठमाडौंमा ‘एकता घोषणा सभा’ सम्पन्न गरेपछि पार्टीले मंसिर १४ गते पोखरामा भव्य ‘एकता सन्देश सभा’ आयोजना गर्न लागेको हो। शुक्रबार पोखरामा गरिएको पत्रकार सम्मेलनमा तत्कालीन एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीले सन्देश सभा चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सुरु हुने जानकारी दिए। सभामा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायत शीर्ष नेताहरूको विशेष सम्बोधन रहनेछ।
२०७३ सालपछि पहिलोपटक यस्तो ठूलो एकता प्रदर्शन
गण्डकी प्रदेशस्तरीय कार्यक्रममा २० हजारभन्दा बढी कार्यकर्ता उतार्ने तयारी रहेको नेकपाले दाबी गरेको छ। पूर्व माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माका अनुसार गण्डकीका ११ वटै जिल्लाबाट कार्यकर्ता सहभागी गराइनेछ र तयारी अन्तिम चरणमा पुगेको छ।
शर्माले १७ वटा कम्युनिष्ट घटक एउटै झन्डामुनि आइसकेको अवस्थामा स्थानीयस्तरसम्म एकताको सन्देश पुर्याउन यो सभा महत्वपूर्ण हुने बताए। सरकारद्वारा फागुन २१ गते घोषित प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावलाई लक्ष्य गर्दै कार्यकर्तास्तरीय एकता मजबुत बनाउने उद्देश्य रहेको पनि उनले उल्लेख गरे।
‘हामीले ढाँटेर होइन, घोषणा गरेर अघि बढेका हौं,’ नेता शर्माले भने, ‘२०५२ सालमा गणतन्त्र ल्याउँछौं भनेका थियौं, ल्याएर देखायौं। अब समाजवादी क्रान्तिको यात्रा अघि बढाएका छौं।’
उनका अनुसार आगामी निर्वाचनमा जेनजी (नयाँ पुस्ता)को नेतृत्व उदाउने र शीर्ष नेताहरूले क्रमशः ठाउँ खाली गर्दै जाने संकेत पनि देखियो।नेकपाले माक्र्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानी ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ को मार्ग अनुकरण गर्ने बताएको छ।
पार्टीले जारी गरेको सन्देशमा युवाको विदेश पलायन रोक्ने, शिक्षा-स्वास्थ्य निःशुल्क गर्ने राष्ट्रिय पूँजी परिचालनमार्फत छिटो आर्थिक विकास गर्ने जस्ता लक्ष्यहरू समेटिएका छन्।
शर्माले भदौ २३ र २४ को जनआन्दोलनले वाम शक्तिहरू ध्रुवीकृत भएको उल्लेख गर्दै पोखराको सन्देशसभा चुनाव–केन्द्रित जनसम्पर्क अभियानका रूपमा समेत रहेको बताए।
