
पोखरा। शैक्षिक परामर्श सेवामा दुई दशकभन्दा बढी अनुभव बटुलेको एडुब्रिज कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको उपलक्ष्यमा पोखरा महानगरपालिका-१७, विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। देशभरका विभिन्न शहरमा शाखा विस्तार गरिरहेको एडुब्रिजको यो पोखरास्थित आठौं शाखा हो।
शाखाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिने शाखाका प्रबन्ध निर्देशक किसान सुनारले जानकारी दिए। विदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई सहज र गुणस्तरीय परामर्श उपलब्ध गराउने लक्ष्यसहित शैक्षिक मेला समेत आयोजना गरिएको उनले बताए।
सुनारका अनुसार एडुब्रिज कन्सल्टेन्सीले विद्यार्थीको शैक्षिक पृष्ठभूमि, रुचि र दीर्घकालीन करियर लक्ष्यका आधारमा शैक्षिक संस्था छनोट गर्न सहयोग पुर्याउनेछ।
एडुब्रिजले अष्ट्रेलिया, युके, जापान, युरोप लगायतका देशमा उच्च अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको छ। साथै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालका शैक्षिक संस्थामा अध्यापनका अवसर दिलाउने काममा पनि कन्सल्टेन्सीले सहजीकरण गर्दै आएको सुनारले बताए।
गण्डकी प्रदेशस्थित यस नयाँ शाखाले अष्ट्रेलिया, युके, जापान, युरोप र युएईका विभिन्न विश्वविद्यालय तथा कलेजसँगको प्रतिनिधित्वमार्फत विद्यार्थीलाई अझ प्रभावकारी सेवा उपलब्ध गराउने बताइएको छ।
