
पोखरा । पोखरा महानगरपालिका-१९ पुरुन्चौर चुरुङामा आयोजित दोस्रो संस्करणको दाइँ महोत्सव यस वर्ष अझै आकर्षक, जीवन्त र उपस्थित सबैका लागि अविस्मरणीय अनुभव बनेको छ। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा भएको यो महोत्सवले कृषि-संस्कृति र पर्यटनबीच एक अद्भुत सेतु निर्माण गरेको छ।
कृषि परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन र कृषकलाई प्रोत्साहन गर्न आयोजित महोत्सवमा आकर्षक प्रतियोगिताले सबैको ध्यान खिच्यो।उत्कृष्ट गोरू पालक, उत्कृष्ट धान उत्पादक, धान चुट्ने दँदेरो, परालको भारी बाँध्ने, गुन्द्री बुन्ने प्रतियोगिता यी सबैले स्थानीय सीप, मेहनत र मौलिकतालाई झल्काए। दँदेरालाई टोपी वितरण र अतिथिहरूलाई स्थानीय उत्पादनबाट बनेको उपहार प्रदान गरिएको क्षण भने विशेष भावनात्मक बन्यो।
पोखरा भ्रमणमा आएका विदेशी पर्यटकहरू दाइँ महोत्सवबाट विशेष रूपमा मोहित बने। उनीहरूले नेपाली गाउँ-जीवन, कृषि पद्धति र संस्कृतिलाई प्रत्यक्ष अनुभूति गरी ‘नेपाली संस्कृति संसारमै अनौठो र मनमोहक’ भएको प्रतिक्रिया दिए। केहीहरूले त यस्तो मौलिक परम्पराले नेपाल भ्रमणलाई जीवनकै अद्भुत यात्रा बनाइदिएको बताए।
स्थानीय कृषिको पहिचान मात्रै होइन, महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा पनि नयाँ ऊर्जा थपेको आयोजकहरूको विश्वास छ। प्रकृति, संस्कृति र कृषिको मिश्रण भएको यस्तो कार्यक्रम पोखरालाई ‘चारै मौसमकै आकर्षक गन्तव्य’ बनाउने महŒवपूर्ण आधारका रूपमा हेरिएको छ।
