गीतकार आदर्श पोखरेलको ‘आउँछ्यौ तिमी नजरमा’ भिडियो सार्वजनिक

Share:

पोखरा । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् । आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे ।

एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए ।

‘जितमा पनि हारमा झैँ पिट्दैछन् रे ताली’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् । सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।

कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

हेर्नुहोस् भिडियो:

कमेन्ट गर्नुहोस्
Share: