
पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा तथा नेवा मिस पुच कास्कीको समन्वयमा आयोजित यःमरी महोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। “कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन” भन्ने नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले पोखराको पुरानो बस्ती-रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार एशियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाइएका १५ वटा दिगो पर्यटन विकास परियोजनामध्ये यो क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ।
आचार्यले पोखरा महानगरपालिका “स्थानीय, मौलिक र परम्परागत संस्कृतिको संरक्षणमा प्रतिबद्ध” रहेको स्पष्ट पारे। महोत्सवमा विभिन्न यःमरीका परिकारहरू प्रदर्शनीमा राखिएका थिए भने राति आकर्षक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो।
कार्यक्रमका बारेमा जानकारी दिंदै वडाध्यक्ष देवकृष्ण पराजुलीले नेवारी संस्कृतिमा विशेष स्थान राख्ने यःमरीजस्ता परम्परागत परिकारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सांस्कृतिक पहिचान संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनको सन्देश बोकेको यःमरी महोत्सवले पोखरा-४ को पुरानो बस्तीलाई भविष्यको आकर्षक सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।





