पोखरामा राइज फिटनेसको तीव्र विस्तार, तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

Share:

पोखरा । स्वास्थ्य र फिटनेसप्रति बढ्दो रुचिका बीच राइज फिटनेसले पोखरामा आफ्नो सेवा विस्तारलाई झनै गतिशील बनाउँदै तीन स्थानमा आधुनिक जिम सञ्चालनमा ल्याएको छ। सात वर्षदेखि फिटनेस क्षेत्र सक्रिय राइज फिटनेस अहिले प्रस्याङ, सिर्जनाचोक र हालै खुलेको शान्तिनगर चोकका तीन शाखासहित पोखराको अग्रणी फिटनेस केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

पोखरा-७ शान्तिनगर चोकस्थित पूर्व रत्न श्री जिमको स्थानमा अत्याधुनिक संरचना र अत्याधुनिक उपकरणसहित पुनः सञ्चालनमा आएको राइज फिटनेसलाई आधुनिक फिटनेस अवधारणासँग मेल खाने जिमका रूपमा चिनिँदै आएको छ। संचालक कमल भण्डारीका अनुसार फिटनेस प्रविधि, सेवा डिजाइन र संरचनामा आएको परिवर्तनलाई ध्यानमा राख्दै नयाँ-नयाँ शाखा विस्तार गरिएको हो।

राइज फिटनेसका तीनै शाखामा अत्याधुनिक, प्रविधि-मैत्री फिटनेस मेसिन जडान गरिएको छ। नयाँ सदस्यलाई १५/२० दिनसम्म दक्ष प्रशिक्षकबाट निःशुल्क प्रशिक्षण उपलब्ध गराइने र कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारी बताउँछन्। प्रत्येक शाखामा दुई जना दक्ष ट्रेनर र पाँच/पाँच जना कर्मचारी खटाइएकाले सदस्यहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन मिल्ने व्यवस्था छ।

फिटनेसलाई सबै उमेर समूहका लागि सहज बनाउन राइज फिटनेसले मासिक ३ हजार रुपैयाँ र त्रैमासिक ७ हजारको किफायती शुल्क निर्धारण गरेको छ। ग्राहकलाई थप सुविधा दिन भर्ना शुल्क पूर्ण रूपमा हटाइएको छ, जसले नयाँ सदस्यलाई झनै उत्साहित बनाएको छ।

५ करोडभन्दा बढी लगानी, शान्तिनगर शाखामा मात्र २ करोड

तीनै शाखा विस्तारसँगै राइज फिटनेसमा हालसम्म ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको भण्डारी बताउँछन्। शान्तिनगर चोकको नयाँ शाखामा मात्र करिब २ करोड रुपैयाँ लागत रहेको छ। विस्तारसँगै आम्दानी पनि सन्तोषजनक रहेको उनले बताए।

पहिले जिमप्रति डर वा संकोच हुने धारणाले अब ठाउँ छोड्दै फिटनेसलाई नियमित जीवनशैलीकै हिस्सा बनाउने संस्कार बढ्दै गएको भण्डारी बताउँछन्। १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यले दैनिक रूपमा राइज फिटनेसको सेवा लिइरहेका छन्।

“हामीले फिटनेसलाई स्वास्थ्य सुधारको आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन फिटनेस अनिवार्य भएकाले सबै उमेर समूहलाई जोड्ने लक्ष्य राखेका छौँ,” भण्डारीले भने।

फिटनेस क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भए पनि ग्राहकको विश्वासलाई मुख्य शक्ति मानेर राइज फिटनेसले सेवा, उपकरण, तालीम शैली र व्यवस्थापनमा निरन्तर सुधार गर्दै आएको छ।

“पहिलो शाखाबाट सुरु गरेको यात्रालाई अझ फैलाउँदै पोखराका धेरै क्षेत्रमा आधुनिक सेवा पुर्याउने लक्ष्य छ,” भण्डारीले भविष्य योजनाबारे भने।

कमेन्ट गर्नुहोस्
Share: