ठकसरी युवा परिवार कास्कीको विशेष प्रशिक्षण पोखरामा सफलतापूर्वक सम्पन्न

Share:

पोखरा। ठकसरी युवा परिवार कास्कीले आयोजना गरेको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक विशेष प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा उत्साहपूर्वक सम्पन्न भएको छ। युवाको क्षमता अभिवृद्धि र नेतृत्व क्षमतालाई सुदृढ बनाउन उद्देश्य गरिएको तालिमले सहभागीहरूमा उल्लेखनीय प्रभाव पारेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा ठकसरी समाज महासंघ नेपालका अध्यक्ष खिमबहादुर शाही लक्ष्मणले यस्ता कार्यक्रमले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘युवा पुस्ताले साझा उद्देश्यसहित अघि बढे समाज रूपान्तरणको गति अझ तेज हुन्छ,’ उनले भने।

सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मअनुशासन र नेतृत्व क्षमताबारे व्यावहारिक तथा प्रेरणादायी प्रशिक्षण दिए। हालसम्म ६९ वटा तालिम सञ्चालन गरिसकेका उनले समाज परिवर्तनको सुरुवात व्यक्ति स्वयंको आन्तरिक रूपान्तरणबाट हुने बताए।

‘समाज बदल्नभन्दा पहिले आफू बदलिन आवश्यक छ, र त्यो परिवर्तन अवचेतन मनबाटै सुरुवात हुन्छ,’ उनले जोड दिए। ठकसरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले यस्ता तालिमले युवामा आत्मविश्वास, व्यक्तित्व विकास र नेतृत्व क्षमताको व्यापक वृद्धि हुने विश्वास व्यक्त गरे।

उपाध्यक्ष ज्योति हमाल, सल्लाहकार दुर्गा शाह ‘बाबा’, टेकबहादुर मल्ल, अनिल कुमार शाही, सन्तोष शाहीलगायत सहभागिले कार्यक्रमलाई युगानुकूल आवश्यक रहेको बताए।

सचिव मोहन शाहीका अनुसार ५० भन्दा बढी सहभागिता रहेको कार्यक्रममा युवाको सक्रियता, सकारात्मक ऊर्जा र प्रेरणादायी सिकाइका कारण प्रशिक्षण प्रभावकारी बनेको थियो।

ठकसरी युवा परिवार कास्कीले आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर नेतृत्व, सीप विकास र व्यक्तिगत रूपान्तरणमा ध्यान केन्द्रित कार्यक्रम निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: