
पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो रजत वर्षको अवसरमा आगामी बिहीबार मंसिर १८ गते पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्न लागेको छ। झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी तीव्रतापूर्वक भइरहेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए।
यो कार्यक्रम रेडियोको स्थापना भएको २५ वर्ष पूरा भएपछि वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तर्गत आयोजना हुने विशेष साँझ हो। कार्यक्रममा झलकमान गन्धर्व र नारायण गोपालका गीतहरू सारङ्गीमा प्रस्तुति मार्फत स्मरण गरिनेछ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कलाकारहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको अलगै महत्व रहने बताए। उनले वडावासीलाई सहभागी हुन पनि आग्रह गरे।
साँझ साढे ४ बजे पोखराको महेन्द्रपुल स्थित फाल्चामा सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीहरूले सारङ्गीमा सांगीतिक प्रस्तुति दिनेछन्।
कार्यक्रमलाई भव्य बनाउन पोखरा महानगरपालिका वडा नम्बर ३, ११, १२, पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एसके साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन र नेवा मिस्स पुच्स कास्की लगायतले सहयोग गर्नेछन्।
रेडियो अन्नपूर्णले यसअघि पनि नारायण गोपालको स्मृतिमा साँझ, वृद्धाश्रम सहयोग, बहस कार्यक्रम, जिल्ला प्रहरी कार्यालयमा स्टेसनरी वितरण, विन्ध्यवासिनी मन्दिर सरसफाइ र राष्ट्रिय पोशाक सहयोग जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ। २०५८ साल वैशाख १२ मा स्थापना भएको रेडियोले २५ वर्षमा सञ्चार क्षेत्रमा विशेष पहिचान बनाउन सफल भएको छ।
