
पोखरा । मंसिर १७ बाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु हुन लागेको नेपाल मणिपाल अस्पताल-३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक-२०८२ का सबै तयारी अन्तिम चरणमा पुगेका छन्। आयोजक पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण पूर्वाधार तयार भइसकेको जानकारी गराएको हो।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेला आगामी बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट उद्घाटन हुने छ। निजी क्षेत्रमाथि जेनजी आन्दोलनका क्रममा परेको दबाबपछि व्यवसायिक वातावरणलाई पुनःस्थापना गर्ने, उद्यमीको मनोबल बढाउने र नयाँ लगानीका सम्भावना पहिचान गर्ने मेलाको मुख्य उद्देश्य रहेको उनले बताए।
यद्यपि प्रदर्शनी केन्द्रको खुला क्षेत्र सीमित भए पनि संघको उत्साह उच्च रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले मेला ‘लगानीको संवर्द्धन, उद्योग-व्यवसायको प्रवर्द्धन’ भन्ने मूल मान्यताकै आधारमा अघि बढ्ने बताए।
मंसिर १७ देखि २१ गतेसम्म चल्ने मेलामा आईटी नवप्रवर्तनदेखि घरायसी सामग्री, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो मोडल तथा औद्योगिक उत्पादनहरू प्रदर्शित गरिनेछ। साथै कृषि, पर्यटन तथा सरकारी आर्थिक नीतिबारे बहस-संवादका कार्यक्रम समेत हुने जनाइएको थियो ।
संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि-केन्द्रित सहरका रूपमा विकास गर्ने दृष्टि रहेको बताउँदै नेपाल मणिपाल अस्पताल सह-आयोजकको रूपमा जोडिनुले पोखरालाई स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्यो।
मेलामा क्यान महासंघ कास्की सह-आयोजकको रूपमा रहेको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रमुख प्रवर्द्धक बन्न पुगेका छन्। ग्लोबल आइएमई बैंक सह-प्रायोजकका रूपमा छ भने नेपाल टेलिकम, रेडबुल, डाबर नेपाल, मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक लगायत दुई दर्जनभन्दा बढी संस्थाले विभिन्न विधामा मेलालाई साथ दिइरहेका छन्।
पत्रकार सम्मेलनमा नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर तथा पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ, क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर लगायतले मेलाले पोखराको स्वास्थ्य, सूचना-प्रविधि तथा औद्योगिक क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्ने धारणा राखे।
महासचिव शोभा गौतमका अनुसार यो मेला उद्यमी, उद्योगी, उत्पादक र उपभोक्ता सबैलाई एकै थलोमा भेट गराउने पोखराको सबैभन्दा ठूलो व्यापारिक उत्सव मात्र नभई यस क्षेत्रमा मौलिक कला-संस्कृति प्रदर्शन गरिने उत्कृष्ट अवसरसमेत हुनेछ।
