
पोखरा । जेनजी आन्दोलनका दोस्रो दिन पोखरामा भएको भीषण तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। एक जना भने २ लाख धरौटीमा रिहा भएका छन्।
थुनामा पठाइएका मध्ये एक नाबालकसहित विमला (बिना) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर थापा छन्। उनका भाइ हरिबहादुर थापा भने धरौटीमा छुटेका छन्। उनीहरूलाई आपराधिक उपद्रव तथा डाँका-चोरीसम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ।
२४ भदौको विरोध प्रदर्शन हिंसात्मक बन्दा पोखरा महानगरका मेयर धनराज आचार्यको घर, गाडी, निजी व्यवसायदेखि लिएर वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, विभिन्न होटल, स्टल र घरहरूमा लक्ष्यित आक्रमण भएका थिए। सरकारी तथा निजी संरचनामा भएको क्षतिको विवरणसँगै ३० वटा प्रमाणसहितका किटानी जाहेरी दर्ता भएका छन्।
यस घटनामा कास्की प्रहरीले हालसम्म ५७ जनालाई पक्राउ गरेको छ। तीमध्ये १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जनाको अनुसन्धान जारी छ। प्रारम्भिक अनुमान अनुसार सरकारी संरचनामा २ करोडभन्दा बढी, निजी क्षेत्रमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको छ।
