
पोखरा। पोखरा रंगशालामा जारी ‘आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट-१’ अन्तर्गत ‘राउण्ड अफ १६’ का खेलहरूमा मिश्रित नतिजा आएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा नेपालका उदीयमान खेलाडीहरू शिवाली गुरुङ र प्रणव मानन्धरले सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् भने शीर्ष वरीयताकी सुनिरा थापा प्रतियोगिताबाट बाहिरिएकी छिन्।
ब्वाइज सिंगल्सतर्फ नेपालका आयुष्मान हजुर घले र भारतका फजल अली मीरबीचको खेल निकै नाटकीय रह्यो। पहिलो र दोस्रो सेट १-१ को बराबरीमा रहेको अवस्थामा तेस्रो सेटमा आयुष्मान ‘रिटायर्ड हर्ट’ भएपछि खेल त्याग्न बाध्य भए। भारतीय खेलाडी फजलले ६-७ (१), ६-०, १-० को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे।
यस्तै, नेपालका प्रणव मानन्धरले उत्कृष्ट पुनरागमन गर्दै भारतका शशांक साई प्रसाद कर्नाटीलाई ६-०, २-६, ६-० ले पराजित गरी क्वार्टरफाइनलको यात्रा तय गरे। तर, नेपालका दर्शिल श्रेष्ठ श्रीलंकाका गनुका फर्नान्डोसाग ६-०, ६-२ को सोझो सेटमा पराजित भए।
अन्य खेलमा दक्षिण कोरियाका युल हो जुंग र भारतका हर्ष मारवाहाले पनि आ-आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। भारतका प्रतीक श्योरनले सिंगापुरका रोबर्ट दोल्यालाई तीन सेटको कडा प्रतिस्पर्धामा पराजित गरे।
गर्ल्स यू-१८ सिंगल्सतर्फ ठूलो उलटफेर भयो। नेपालकी शीर्ष वरीयता प्राप्त खेलाडी सुनिरा थापा भारतकी शताक्षिका सहायकसँग ७-६ (५), ६-४ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्। यद्यपि, नेपालकी अर्की खेलाडी शिवाली गुरुङले भने भारतकी मेहा पाटिललाई ६-०, ६-० ९डबल ब्यागल० को फराकिलो अन्तरले हराउँदै प्रभावशाली जित दर्ता गरिन्।
अन्य खेलहरूमा ताइपेकी के-चिएह ह्सु, भारतकी अनन्या जैन, क्यानाडाकी नोरा चौधरी, भारतकी रञ्जना संग्राम, तेजस्वी मानेनी र कार्तिका पद्माकुमारले आ-आफ्ना खेल जित्दै अन्तिम आठमा स्थान सुरक्षित गरे। ब्वाइज डबल्सतर्फ दक्षिण कोरियाका ह्योजिन हा र युल हो जुंगको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ। गर्ल्स डबल्समा भारतकी शताक्षिका सहायक र न्युजिल्यान्डकी बोइदेही उकिलको जोडी अन्तिम चारमा पुग्न सफल भयो।
१६ देशका खेलाडीको जमघट
मंसिर २७ गतेसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, चीन, भारत, न्युजिल्याण्ड, अस्ट्रेलिया, कोरिया, बेलायत लगायत १६ देशका ८० खेलाडीहरू (५५ ब्वाइज र २५ गर्ल्स) सहभागी छन्। प्रतियोगिताका विजेताले ३० अंक प्राप्त गर्नेछन् भने उपविजेताले १८ अंक पाउनेछन्। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलका अनुसार प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले सहकार्य गरेका छन्।
