“नेपालमा केही हुँदैन भन्ने मानसिकता बदल्नुपर्छ”- महासंघ अध्यक्ष ढकाल

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक-२०८२’ बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे। उद्घाटन समारोहमा उनले देशमा नकारात्मक सोच हावी भएको उल्लेख गर्दै भने, “नेपालमा केही हुँदैन हैन, धेरै गर्न सकिन्छ। अब यस्तो भाष्य चिर्न निजी क्षेत्र अघि बढ्छ।”

ढकालले नेपालकै पुँजीले ठूलो आयोजना बनाउन सकिने उल्लेख गर्दै १० अर्ब पुँजीको लगानी कम्पनी (एनडीपी) स्थापना गरिएको जानकारी दिए। उनका अनुसार एनडीपीमार्फत ५० अर्ब रुपैयाँ सम्मका परियोजना सुरु गर्ने तयारी छ।

“हाम्रै पुँजीबाट ठूला उद्योग तथा पूर्वाधार निर्माण सम्भव छ,” उनले भने, “नयाँ उद्यमीलाई लगानी जुटाउने वातावरण हामी नै बनाउँछौँ।” अध्यक्ष ढकालले भदौ २४ को जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि भएको आक्रमणको कडा निन्दा गर्दै अपराधीमाथि कारबाही गर्न सरकारसँग माग गरे।

उनले उद्योगी-व्यवसायी पीडित भएको उल्लेख गर्दै भने, “रोजगार दिने हातमाथि हमलाले अर्थतन्त्रलाई चोट पुर्‍यायो। यस्तो दोहोरिन दिन मिल्दैन।” महासंघले सबै जिल्लाका सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेर सुरक्षा संयन्त्र सुदृढ बनाउने प्रयास भइरहेको पनि उनले बताए।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष आनन्दराज मल्लमीले भागबण्डा र अस्थिरताले देशको विकास रोकिएको बताए। उनले भने, “स्थिर सरकारको आवश्यकता छ। एक दलले बहुमत ल्याउन सके मात्र योजना कार्यान्वयन हुन्छ।” उनका अनुसार चुनाव नै समाधान हो र राजनीतिक दलले तयारी गर्न निजी क्षेत्रले दबाब दिनुपर्ने बताइयो।

मल्लमीले निर्वाचन ढिलाइ हुँदा अस्थिरता बढ्ने खतरा दोहोरो गर्दै भने, “चुनाव नभए फेरि सेना चलाउनुपर्ने स्थिति नआओस्। जनमत लिएर अघि बढ्न सबै दल तयार हुनुपर्छ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स् छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक समस्या छानबिन गर्न बनाइएको समितिको प्रतिवेदन तत्काल लागू गर्न जोर दिए।“धावनमार्ग छोटो छ भने बढाऊ, जहाँ कमी छ त्यही सुधार गर,” भन्दै उनले पोखरेलीहरूले दवाब दिनुपर्ने बताए।

महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रमाथि भएको आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनाएको बताए। “हामी बैंकको ऋण, जोखिम र सपनासहित उद्यम गर्दैछौँ। डराएर पछि हट्नेवाला छैनौँ,” उनले स्पष्ट गरे।

संघका अध्यक्ष गोकर्ण कार्कीले निजी क्षेत्र समयमै संसद् निर्वाचन हुनुपर्ने अभिलाषी भएको बताए। उनले भने, “चुनाव होस्, तर चुनाव वा आन्दोलनको नाममा निजी क्षेत्रमाथि चन्दा आतंक नआओस्।” जेनजी आन्दोलनमा भएका घटनालाई अपराध ठहर गर्दै उनले पुनरावृत्ति रोक्न कडा व्यवस्था आवश्यक रहेको बताए।

ढकालले देशमा कार्य-उपयुक्त उमेरका युवा धेरै हुनु राष्ट्रको ठूलो अवसर भए पनि राज्यले यसको उपयोग गर्न नसक्दा जेन-जी विद्रोह जन्मिएको तर्क गरे। उनले भने, “वर्षेनी ५ लाख युवा श्रम बजारमा आउँछन्। तिनीहरूलाई टिकाउने रणनीति राज्यसँग छैन।”

उत्पादकत्व, रोजगारी र लगानी बढाउन स्थिरता तथा सुधार अनिवार्य रहेको उनले जोड दिए। निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग दर्तादेखि खारेजीसम्मको प्रक्रिया सरल बनाउने, विशेष आर्थिक क्षेत्र सक्रिय पार्ने, उच्च मुल्य पाउने कृषि उत्पादनमा अनुदान तथा अनुसन्धान, स्टार्टअपलाई सहुलियत कर्जा दिने जस्ता विषयमा सरकारले ठोस निर्णय गर्नुपर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्
Share: