‘चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रगाढ बनाउँछ’ : प्रदेश प्रमुख भट्ट

Share:

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालका मौलिक चाडपर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बिहीबार किराँत समुदायको महान् चाड उधौली, नेवार समुदायको यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख भट्टले जारी गरेको सन्देशमा यी पर्वहरूलाई आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवद्र्धन र प्रकृति प्रेमको प्रतीकको रूपमा चित्रण गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘यी चाडहरूले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर प्रदान गर्दछन्, जसले पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।’

उनले नेपालको विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै वृहत् राष्ट्रिय एकतालाई थप बलियो बनाउन यी पर्वहरूले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख भट्टले किराँत समुदाय (राई, लिम्बु, सुनुवार र याक्खा) ले मनाउने उधौली पर्वको कृषि र प्रकृतिसँगको गहिरो सम्बन्धलाई स्मरण गरेका छन् । अन्नबाली पाकेपछि इष्ट देवता र पितृलाई चढाएर खाने अनुमति माग्ने यो पर्वले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उनले उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘लेकबाट बेँसीतिर बसाइँ सर्ने समयको सङ्केत गर्ने यो पर्वमा परम्परागत भेषभूषामा सजिएर गरिने सामूहिक साकेला नृत्यले हाम्रो सांस्कृतिक विविधतालाई झल्काउँछ ।’

त्यस्तै, नेवार समुदायले मनाउने यःमरि पुन्ही र धान्यपूर्णिमा पनि कृषि प्रणालीसँगै जोडिएको पर्व भएको भट्टले बताएका छन् । नयाँ भित्र्याइएको धानको चामलबाट बनेको विशेष परिकार ‘यःमरि’ खाने र धनधान्यले भरिपूर्ण हुने जनविश्वास यो पर्वको मौलिक पक्ष हो ।

असारे धान मङ्सिरमा भित्र्याएपछि प्रमुख खाद्यान्न धानप्रति कृतज्ञता प्रकट गर्ने पर्व भएकाले धान्यपूर्णिमाको कृषि युगमा ठूलो महत्व रहेको सन्देशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: