
पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका व्यवस्थापन संकाय (एमबिएस) दोस्रो तथा चौथो सेमेस्टरका विद्यार्थीहरूले शनिबार पोखरा-२२, पुम्दीभुम्दीस्थित कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे क्षेत्रमा गरेको अध्ययन-अवलोकन भ्रमण सम्पन्न गरेको छ।
व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै गरिएको यस भ्रमणले विद्यार्थीहरूलाई सामुदायिक पर्यटन, स्थानीय उद्यमशीलता र होमस्टे सञ्चालनका विविध पक्षबारे प्रत्यक्ष अनुभव दिलाएको छ।
१८ घरधुरीद्वारा सञ्चालित आकर्षक होमस्टे
कालाबाङ्ग सामुदायिक होमस्टे घर नम्बर १ का सञ्चालक नन्दा गुरुङ र रविन्द्र गुरुङ दम्पतीका अनुसार हाल १८ घरधुरीले होमस्टे सञ्चालन गर्दै आएका छन्, जहाँ गुरुङ, ब्राह्मण र दलित समुदायको समावेशी सहभागिता छ।
‘अहिले त हप्ता दिनअघि नै बुकिङ भरिन्छ,’ नन्दा गुरुङ भन्छिन्, ‘स्थानीय तथा विदेशी पर्यटकले यहाँको आतिथ्य, प्रकृति र परम्परागत वातावरण मन पराइरहेका छन्। यही नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।’
उनका अनुसार होमस्टेको सञ्चालनले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना, आय-आर्जन विस्तार, सांस्कृतिक संरक्षण तथा पर्यटकीय आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
यही होमस्टेका अर्का सञ्चालक तथा एमबिएस दोस्रो वर्षमा अध्ययनरत सुजन पौडेल परिवारकै साथ उद्यममा सक्रिय छन्। अध्ययनसँगै उद्यमशीलता अघि बढाउन पाउनु आफू जस्ता युवाका लागि प्रेरणादायी रहेको उनी बताउँछन्। ‘यसले हामीलाई व्यवहारिक, जिम्मेवार र स्वदेशमै अवसर खोज्न सक्षम बनाउँछ,’ पौडेलको भनाइ छ।
गुप्तेश्वर क्याम्पसका आईक्यूएसी प्रमुख राजकुमार सुवेदीले यस्ता अवलोकनात्मक गतिविधिले विद्यार्थीको सीप, बुझाइ र व्यवहारिक क्षमता विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए। ‘कक्षाको सैद्धान्तिक ज्ञानलाई वास्तविक परिवेशसँग जोड्न यस्तो भ्रमण अत्यन्तै प्रभावकारी हुन्छ,’ उनले भने।
भ्रमणका क्रममा विद्यार्थीहरूले कालाबाङ्ग होमस्टेबाट करिब १० मिनेट दूरीमा रहेको विशाल बुद्ध पार्कको समेत अवलोकन गरे। यो पार्कबाट माछापुच्छ्रे हिमालशृङ्खला, पोखरा उपत्यका, फेवाताल, सराङकोटलगायत वरपरका रमणीय दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। पछिल्ला वर्षमा बुद्ध पार्क पोखराको प्रमुख घुम्नुपर्ने स्थानको रुपमा लोकप्रिय बन्दै गएको छ।
होमस्टेमा आउने पाहुनाले गाउँजस्तो परम्परागत वातावरण, स्थानीय खानाको स्वाद, गुरुङ संस्कृति, नृत्य-भेषभूषा र प्राकृतिक सुन्दरताको अनौठो संयोजन अनुभव गर्न सक्छन्। गुरुङ समुदायको आकर्षक सांस्कृतिक भेषभूषा हाल यहाँको मुख्य आकर्षण नै बनेको हो।
विद्यार्थीहरूको भनाइमा कालाबाङ्ग घरेडी होमस्टे सामुदायिक पर्यटन, स्थानीय उद्यमशीलता र विकास मोडेलको उत्कृष्ट उदाहरण बनेको छ, जसले पोखरा आसपासको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याइरहेको छ।



