१२ लाखभन्दा बढी पुरस्कार राशीसहित पोखरामा पहिलो केज फाइट, तयारी अन्तिम चरणमा

Share:

पोखरा । पर्यटकीय राजधानी पोखरामा पहिलोपटक केज फाइट आयोजना हुने भएपछि तयारी तीव्र बनेको छ। पोखरालाई नयाँ आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यसहित ‘कन्टेन्डर फाइट सिरिज-३’ मा यस वर्ष विशेष विधा थपिएको आयोजकले जनाएको छ।

साक यान्त मुवाथाईको आयोजनामा हुन लागेको यो भव्य अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गर्दै खेलाडीहरूले १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार हात पार्नेछन्।

आगामी पुस १२ गते हुने फाइटलाई सफल बनाउन नेपाल वारियर सिरिजले सहकार्य प्रदान गरेको छ। कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र क्षेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछन्।

प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट समावेश गरिएको छ। खेलकुदमार्फत पर्यटन प्रवर्द्धन र पोखरामै अन्तर्राष्ट्रिय रोचक गतिविधि थप्ने उद्देश्यले पहिलोपटक केज फाइट प्रस्तुत गरिन लागेको संयोजक क्षेत्रीले बताए।

क्षेत्रीका अनुसार यस्ता फाइटहरूले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन्। “रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडी यस्तै फाइटहरूकै कारण उदाएका हुन्, यो प्रतियोगिता नयाँ खेलाडीका लागि ठूलो अवसर हो,” क्षेत्रीले भने।

यसपटक मुख्य इभेन्टमा सुस्मिता थपा प्रतिस्पर्धा गर्ने भएकी छिन्, जसले फाइटप्रेमीमा थप उत्साह जगाएको छ। आगामी पुस १० गते सबै फाइटर पोखरा आइपुग्नेछन्। पुस ११ गते तौल मापन तथा प्राविधिक प्रक्रिया सम्पन्न गरिनेछ। पुस १२ गते भव्य मुख्य कार्यक्रम सञ्चालन हुनेछ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न झन्डै २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार यस आयोजनाले पोखरामा साहसिक पर्यटनको नयाँ अध्याय सुरु गर्नेछ र अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा पोखराको पहिचान थप बलियो बनाउनेछ।

कमेन्ट गर्नुहोस्
Share: