पोखरामा २१ औं लेखनाथ महोत्सवको रौनक: दैनिक छलफल र अन्तर्क्रिया जारी, सुन्तलादेखि अटोमोबाइलसम्मको प्रदर्शनी हुने

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सव को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न संघले तयारीलाई तीव्रता दिएको हो। गण्डकी प्रदेशकै प्रतिष्ठित मानिने यस महोत्सवका लागि विभिन्न उपसमितिहरूसँग दैनिक छलफल र बैठकहरू भइरहेको संघले जनाएको छ।

महोत्सव मूल संयोजक एवं संघकी अध्यक्ष जानुका पराजुलीका अनुसार कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, युवा परिचालन, पार्किङ तथा विद्यालयस्तरीय कार्यक्रम लगायतका विषयमा सम्बन्धित उपसमितिहरूसँग अन्तर्क्रिया सम्पन्न भइसकेको छ। सबै पक्षले महोत्सव सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

बृहत् सांगठनिक तयारी

महोत्सव सम्पन्न गर्न संघले ३०० सदस्यीय मूल समारोह समिति गठन गरेको छ। यसका अलावा १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति र ६६ सदस्यीय कार्यसम्पादन समिति निर्माण गरी काम अघि बढाइएको छ।

महोत्सवमा कुल ३ सय ३५ वटा स्टल रहनेछन्, जसमध्ये हालसम्म ९५ प्रतिशत स्टल बुकिङ भइसकेको छ। महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय उपकरण, फर्निचर, अटोमोबाइल र सूचना प्रविधिका सामग्रीहरूको प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहनेछन्।

विशेषगरी लेखनाथ क्षेत्रको पहिचान झल्कने सुन्तला, माछा, मौरी, कफी, र दुग्धजन्य उत्पादनहरूको बिक्री तथा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। प्रचार प्रसार समिति संयोजक ध्रुवबाबु भट्टराईले स्थानीय उत्पादनको प्रवर्द्धन, नयाँ प्रविधि हस्तान्तरण तथा साहित्य र संस्कृतिको जगेर्ना गर्न महोत्सव कोशेढुंगा साबित हुने बताए।

यसपटकको महोत्सवको मुख्य प्रायोजकमा गृहलक्ष्मी ग्यास कम्पनी प्रा।लि। रहेको छ। सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन्। त्यस्तै, महोत्सवको प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: