पोखरादेखि ढोरपाटनसम्मको पर्यटन यात्रा सुरु, चालकलाई तालिम दिँदै व्यवसायीको टोली प्रस्थान

Share:

पोखरा। पर्यटकीय राजधानी पोखराबाट नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन जोड्ने गरी पर्यटन प्रवद्र्धन अभियान सुरु भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा मंगलबारदेखि ‘पोखरा-ढोरपाटन’ पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको हो । आन्तरिक पर्यटनलाई चलायमान बनाउन र नयाँ गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले ४५ जनाको जम्बो टोली बागलुङ हुँदै ढोरपाटनतर्फ प्रस्थान गरेको छ ।

यो यात्रा केवल घुमघामका लागि मात्र होइन । एनटिभिए गण्डकीले यात्राकै क्रममा पर्यटन मजदुरहरूको क्षमता अभिवृद्धि गर्ने नौलो अभ्यास पनि थालेको छ । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविप्रसाद आचार्यका अनुसार आज (मंगलबार) बागलुङमा विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीको सहयोगमा हुने उक्त तालिममा कास्कीको घान्द्रुक, बागलुङ, म्याग्दी र पर्वतका यातायात व्यवसायी, चालक तथा सहचालकहरूलाई पर्यटकलाई गर्ने व्यवहार र सुरक्षित यात्राबारे प्रशिक्षण दिइनेछ ।

ढोरपाटनमा व्यवसायी-व्यवसायीबीच हातेमालो

संघका अध्यक्ष दुर्गादत्त दहालका अनुसार टोलीले शुक्रबार ढोरपाटनमा स्थानीय पर्यटन व्यवसायीहरूसँग विशेष अन्तरक्रिया गर्नेछ । त्यहाँका व्यवसायीसँग पर्यटकीय साझेदारी बढाउने र आन्तरिक पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

पर्यटन व्यवसायी, सञ्चारकर्मी र सरोकारवाला सम्मिलित ४५ सदस्यीय टोलीलाई पोखराबाट भव्य बिदाई गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई र नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले खादा लगाएर टोलीलाई विदाई गरेका थिए ।

बागलुङ बजार, बुर्तिबाङ हुँदै ढोरपाटन पुग्ने यो प्रवद्र्धन टोली मंसिर २६ गते पोखरा फर्कने तालिका छ ।

कमेन्ट गर्नुहोस्
Share: